कोरोनाले निम्ताएको कथाब्यथा : गाडी चालक राजेश श्रेष्ठ भन्नुहुन्छ,‘ मर्नु न बाँच्नु भइयो, यसै मर्न सकिएन’

कबिता चापागाई

२३ भदौ, काठमाडौं । गएको माघसम्म कोरोना भाइरसको नाम समेत सुनिएको थिएन । त्यसपछि पनि भाइरस यसरी फैलिदै नेपालसम्म आइपुग्ला भन्ने कल्पना पनि थिएन । सबैको आ–आफ्नो दैनिकी सहजै चलिरहेको थियो । घरधन्दा, व्यापार व्यवसाय, सरकारी काम सबै निर्वाद रुपमा चलेकै थिए ।

त्यसैगरी चलेको थियो काठमाडौको जोरपाटी बस्ने राजेश श्रेष्ठको दिनदैनिकी पनि । श्रेष्ठलाई धेरैले बच्चु भनेर पनि चिन्छन् । उहाँ भन्नुहुन्छ,‘गाडी धनी पनि आफै चलाउने पनि त्यसैले व्यवसाय फस्टाएकै थियो । दैनिक करिब ६ हजार रुपैयाँ आम्दानी नै हुन्थ्यो । खाने लाउने खर्च गरेर पनि २ हजार त दिनहुँ बचत नै हुन्थ्यो ।

कहिलेकाहीँ हुने विवाह, धार्मीक तिर्थयात्रा र विभिन्न कार्यक्रमहरु आम्दानीको प्रमुख स्रोतहरु बनेका थिए । गाडी पनि काठमाण्डौ उपत्यकाको विभिन्न ठाउँ बौद्ध, जोरपाटी, चाबहिल हुदै रत्नपार्क कलंकीसम्म पुग्थ्यो । यो व्यवसायमा लकडाउन अगाडीसम्म घाटा व्यहोर्नु परेको थिएन ।

लकडाउनपछि सार्वजानिक यातायातको अवस्था

सार्वजनिक यातायात नेपालमा निम्न र मध्यम वर्गीय नेपालीहरुले धेरै लगानी गरेको क्षेत्र हो । साझामा केहि लगानी बाहेक सरकारको प्रत्यक्ष लगानी नरहेको सार्वजानीक यातायात व्यवसाय अहिले डुब्ने अवस्थामा पुगेको छ । कोरोना नेपाल भित्रिनु अगाडीसम्म घाटा व्यहोरेका बच्चुको लकडाउनपछि भोग्नुपरेको दुखेसो छ ‘अहिले सबैलाई सोध्दा पिडा एउटै हुन्छ जहाँ मेरो पिडा पनि त्यहि नै हो । ’

‘मर्नु न बाँच्नु भइयो, यसै मर्न सकिएन’

कोरोना महामारीले धेरै नै मारमा परिएको छ । तर यसै मर्न सकिएन । लकडाउन भएपछि एक रुपैयाँ पनि कमाई भएको छैन । घरमा बसेको पनि ६ महिना भैसक्यो । खाने, बस्ने र सुत्ने बाहेक कामै छैन । घर खर्च चलाउन गाह्रो भइरहेको छ अब त भोकमारीे नै लाग्ला जस्तो भईसक्यो ।

पहिला दैनिक दुई हजार बचत हुन्थ्यो, अहिले दैनिक दुई हजार खर्च हुन्छ । बिचमा सरकारले जोर बिजोर प्रणाली लागु गरेको थियो । लकडाउनको समयमा गाडी नचलाएको हँुदा बिग्रेर बसेको थियो, तैपनि केहि आम्दानी हुन्छ भन्ने आशले ५० हजार ऋण लिएर गाडी बनाएर चलाउन थालेको थिए तर तेल खर्च पनि नउठेको भएर गाडी थन्काएर राखेको छु । त्यो ऋण तिर्न सकेको छैन ।

अहिले बैङकको किस्ता पनि के भयो थाहा छैन । यो समयमा मलाई मात्र यस्तो भएको होईन । केहि हप्ता अघि मेरै एक जना साथी बैङकको किस्ता तिर्न नसकेर औषधी खाएर मर्ने अवस्थामा पुगेको थियो पछि उसको उपचारका लागि २ लाख जति पैसा खर्च भयो । अहिले सबैलाई कोरोना भाईरसले मर्नु न बाँच्नु बनाएको छ ।

सरकारप्रतिको अपेक्षा

सरकारले हामी जस्तो सानोतिनो व्यवसायी कराएर के सुन्थ्यो र, तर पनि बढि जोखिममा परेका, खान नपाएकाहरुलाई विशेष ध्यान दिएर हेरिदिए हुन्थ्यो । अब पहिलाको जस्तो अवस्थामा फर्काउन सरकारले निषेधाज्ञा अन्त्य गर्नुपर्दछ । नागरीकहरुले माक्स, सामाजिक दुरी कायम गरी अनुशासन र आचरणमा रहेर दैनिकी चलाउनुपर्ने देखिन्छ ।

हामीले बैङकबाट लिएको ऋणलाई पनि सरकारले केहि समय थप गरेर तिर्ने अवधी पाए अरु नै केहि गर्न हुन्थ्यो भन्ने मलाई लागेको छ ।

अबको योजना

लकडाउनको असर अहिले देशव्यापी रुपमा सबैलाई परेको छ । यसमा मात्र निर्भर नभएर अरु केहि सोंच्नुपर्ने देखिन्छ । हामीले सरकारले दिएको निर्देशन अनुसार नै चल्नुपर्छ । निषेधाज्ञा तत्कालको लागि उपयोगी भएपनि मानव व्यवहार परिर्वतन गरी कोरोना भाईरस सँगसगै जिउनुपर्ने भएकोले अब आफै सुरक्षित भएर अघि बढ्ने सोंच बनाईरहेको छु ।

[sidebar name="button post"]