काभ्रेमा सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ ।

जिल्लामा सङ्क्रमण दैनिकरुपमा बढ्दै गएकाले यातायातको साधन यही भदौ १० गतेसम्मको लागि बन्द गर्नुपरेको हो । जिल्लाका मुख्य बजार क्षेत्र धुलिखेल, पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाका बजार क्षेत्रमा अनावश्यकरुपमा मानिसको भीडभाड तथा आवागमन बढ्दै गएको कारण कोरोना सङ्क्रमण कम गर्नका लागि अर्को सूचना जारी नभएसम्म व्यापारव्यवसाय र अन्य खरिद बिक्रीजन्य क्रियाकलापसमेत निश्चित समयमा मात्रै गर्न निर्देशन दिएको छ । हरेक बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।

सङ्क्रमणका कारण १०२ जना विभिन्न स्थानमा रहेको आइसोलेशनमा राखेर उपचार भईरहेकोमा ३८ जना उपचारपश्चात घर फर्किएका छन् र ६२ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेशनमा उपचार भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

काभ्रेमा सङ्क्रमणबाट दूई जनाको निधन भईसकेको छ ।

[sidebar name="button post"]