समिता लुइटेल
कोरोना महामारीले एक हैन अनेक पाठ सिकाएको छ । स्वास्थ्य सजगता, सरसफाई, आनिबानी र जीवनशैलीमा परिवर्तन हुँदै गएको छ । यी मात्र होइन अव आर्थिक क्रियाकलाप र रोजगारमा समेत विकल्प र पुरानो कृषि प्रणालीको निरन्तरतालाई अपरिहार्य बनाएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउन, निषेधाज्ञाले पनि अबको विकल्प कृषि महत्वपूर्ण क्षेत्र हो भनेर झस्काएको छ । अनि कृषि क्षेत्रको पुरानो सोंच वर्तमानमा बदलिएको छ ।
हेला गरेको कृषि क्षेत्र
लकडाउनपछि सामान्य जीवनशैलीमा परिवर्तन मात्र देखा परेको छैन, सोंच समेत परिवर्तन भएको छ । विगतमा कृषि पेशालाई हेला गरिएको हो । तर अहिले युवा पुस्ताले समेत कृषिमा लाग्नुको विकल्प छैन भन्ने बुझेको देखिन्छ । त्यसैले पहिला हेयका दृष्टिले हेरीने पेशाप्रति अहिले उच्च भावना जागेको छ ।
गाउँ घरबाट उच्च शिक्षाका लागि शहर पसेका युवामा कृषि पेशाप्रति सम्मान मात्रै नभई आकर्षित समेत भएको देखिन थालेको छ । अहिले विदेशबाट फर्केका र शहरबाट गाउँ पसेकाहरु कतिपय युवा पनि कृषितर्फ नै लाग्ने सोंचमा छन् ।
जग्गाको उपयोग र कौशी खेती
कोरोना महामारीले सबै क्षेत्रलाई प्रभावित पारेको यस अवस्थामा कृषि पेशा सम्मानित बन्नुले परिवारको आयस्तर मात्रै होइन देशको आर्थिक अवस्थामा समेत जोडिनेछ । घरबाहिर ननिस्केर करेसाबारी, कौशि खेती, सहकारी खेती, गाउँघरका बारीका पाटा, बाँझो जग्गा खनिखोस्री गरेर तरकारी तथा अन्नबाली लगाइएको छ । यसको एउटा मात्रै उदाहरण यो वर्ष धेरै क्षेत्रमा धान खेती हुनुलाई लिन सकिन्छ ।
यसपाली धानखती हुने क्षेत्रमध्ये झण्डै ९९ प्रतिशत रोपाई भएको कृषि मन्त्रालयको तथ्याङक छ । जग्गा नै नहुने घना बस्ती र काठमाण्डौ उपत्यकामा कौशीखेती गर्नेहरु बढेका छन् ।
युवा सहभागीता
युवा विकास बोलखे नेपालमा कृषि क्षेत्रको परनिर्भरताबाट माथि उठेर विश्व कृषि क्षेत्रको अध्ययन गर्दै नयाँ प्रविधि र योजनाका साथ अगाडि बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, आफू जस्तै धेरै युवा सामुहिक, सस्थागत या कम्पनी दर्ता गराएर व्यवस्थित तरिकाले कृषि पेशामा आईदिने तथा सरकारले पनि यस क्षेत्रमा जनचेतनामुलक योजनाहरूलाई आत्मसाथ गरिदिने, देशव्यापी नयाँ प्रविधि सञ्चालनमा जोड दिने हो भने यो पेशा एक सम्मानित पेशा बन्नेमा म ढुक्क छु ।
विभिन्न विषयका ४० जनाको समुहले एग्रो गु्प मार्फत मुलुकका विभिन्न स्थानमा कृषि, गाईपालन, लगायत कृषि फर्म कार्य देखि अभियन्ता अभियानको रूपमा लागेका यी युवाले कृषि तथा पशु क्रान्ति गर्न लागेका छन् । वर्षेनी लाखौ युवा विदेश पलायन भएको अवस्थामा केही शिक्षित युवा भने नयाँ नयाँ योजना र प्रविधिका साथ कृषि क्षेत्रमा प्रवेश गर्दैछन् । यसरी कृषि क्षेत्रमा केही योगदान गरौँ भन्ने साेंचका साथ अगाडि बढिरहेका छन् । जुन निक्कै सकारात्मक छ ।
समस्या पनि छन्
हरेक क्षेत्रमा आ आफ्नै किसिमका समस्या पक्कै हुन्छन् । त्यस्तै समस्या कृषि क्षेत्रमा पनि रहेको छ । कृषि पेशामा १२ वर्षदेखि सक्रिय ईलाम सुलुबुङका प्रकाश पराजुली भन्नुहून्छ,‘कोरोना जोखिमका कारण भएको लकडाउनले असर पारेपनि निराश भईहाल्ने अवस्था आएको छैन ।’ समस्यालाई औल्याउँदै उहाँले उन्नत खालका बिउबिजन सहजढङ्गले नपाएको, समयमा रोप्न र मलजल गर्न नपाएको बताउनुभयो ।
आम्दानीको स्रोत घटेको अवस्थामा खपत कम हुन्छ । यसले कृषिजन्य उत्पादनमा असर पार्छ तर बिक्रीवितरण गर्न सरकारले नरोकेका कारण निराश हुनुपरेको छैन । नेपालमा आफ्नो पारिवारिक वातावरण अनुसार कृषि पेशामा आबद्व हुने चलन छ । तर पछिल्लो समयमा भने विभिन्न बिषयमा डिग्री हासिल गरेका शिक्षित युवाहरू नयाँ जोस जाँगर र नयाँ प्रविधि तथा योजनाका साथ अघि बढेका छन् ।
शिक्षा र कृषि क्षेत्र
नेपालमा कृषि विषय अध्ययन अध्यापन हुन थालेको भए पनि कृषि विषय अध्ययन गरेका विद्यार्थी भने कृषि पेशा अँगालेको खासै नपाएको रामपुर कृषि क्याम्पस, चितवनका क्याम्पस प्रमुख मिलन सुवेदी बताउनुहुन्छ । कृषि विषय व्यवहारिक तथा प्रयोगात्मक पद्धति अनुसार अध्ययन अध्यापन भएतापनि यस विषय अध्ययनरत विद्यार्थीहरू शैक्षिक डिग्री हासिल गरेर विदेश पलाएन हुने मुख्य कारण रहेको उहाँको बुझाई छ । सरकार, विश्विविद्यालय प्रशासन, शिक्षक लगाएत सबै पक्षबाट केही न केही कमी, कमजोरी रहेका कारणले त्यति प्रभावकारी छैन ।
त्यसो त कृषि अध्ययन गरेका टिकापुर, कैलालीका कालू हमालले केरा खेती गरेर, केरा रेष्टुरेन्ट स्थापना गरेर नेपालका राष्ट्रपतिद्वारा उत्कृष्ट कृषक पुरस्कार समेत पाउनुभएको छ । त्यस्तै चितवनका नारायणजँग रायमाझी, सशन देवकोटा, ललितपुरका राजिव न्यौपानेले कृषि सम्बन्धि कार्य गरेर नेपालभर चर्चामा आउनुभएको छ । उद्योगी पवन गोल्यानले रसायनमुक्त तरकारी र खाद्यान्नमा झापाबाट शुरू गरि नेपालभरका जिल्लामा फैलाउने अभियानमा हुनुहुन्छ ।
नेपालको वर्तमान अवस्थाले पनि कृषि नै नेपालको लागि सर्वोकृष्ट पेशा भएको मान्न सकिन्छ । यसका लागि कृषिका सबै क्षेत्रमा सरकारले नयाँ योजना, प्रविधि तथा प्रोत्साहन ल्याएर कृषि क्षेत्र र यो पेशालाई आधुनिकतातर्फ लैजान सके भोलीका दिनमा आत्मनिर्भर बन्न सक्ने सुनौलो मौका छ ।









