२३ पुष, काठमाडौं । बेलायतबाट नेपाल फर्किएका संक्रमितको नमुना हङकङ पठाइने भएकाे छ । नेपाल फर्किएका ५ नागरिकको कोरोना भाइरस संक्रमणको जिन सिक्वेन्सिङ गर्न हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा नमुना पठाउने तयारी भएको हाे ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाका अनुसार सोमबारसम्ममा हङकङ पुग्ने गरी नमुना पठाउन लागिएको छ ।
गत पुष १४ गते बेलायतबाट फर्किएका ५ नागरिकमा संक्रमण पुष्टि भएपछि नेपालमा पनि कोरोना भाइरसको नयाँ लहर प्रवेश गरेको आशंका गरिएको थियो । तर, जिन सिक्वेन्सिङ नगरी भाइरसको स्वरुप थाहा नपाइने भएकाले अन्योल थियो ।












