Ad #144479

एजेसी । महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम भएको छ । बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोलबढाबढ लिलामीमा गान्धीको चस्मा अमेरिकी नागरिकले किनेका हुन् ।

भनिन्छ यो चश्मा गान्धीलाई उनका हजुरबुवाले दिएका थिए, जतिबेला उनी दक्षिण अफ्रिकामा काम गर्दथे । यो १९१०–१९३० तिरको कुरा हो । लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनका अनुसार ३ अगस्टमा यो चश्मा एक सेतो खामभित्र फेला परेको थियो, जसलाई कुनै व्यक्तिले छोडेका थिए ।

अक्सन कम्पनीका एन्ड्रयु स्टोका अनुसार आफ्नो कम्पनीको इतिहासमा उक्त चस्मा महत्वपूर्ण वस्तु भएको बताए । उक्त चस्माको मूल्य बताइँदा त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मुर्छा परेको उनले बताए ।

‘कसैले हाम्रो पत्रमञ्जूषामा शुक्रवार राति त्यो हालिदियो र सोमवारसम्म यो त्यहीँ झुन्डिराख्यो’ उनले भने- हाम्रा एक कर्मचारीले मलाई त्यो दिँदै त्यसमा गान्धीको चस्मा उल्लेख गरिएको एउटा टिपोट भएको बताए ।

अनुसन्धान गर्दा सुनको जलप लगाइएको घेरा भएको उक्त गोलाकार चस्मा वास्तवमै नागरिक अधिकारका लागि सङ्घर्ष गरेका भारतीय नेता गान्धीले लगाएको पत्ता लागेपछि आफू झन्डै कुर्सीबाट लडेको उनी बताउँछन् । ‘मैले ती व्यक्तिलाई फोन गरेँ अनि उनलाई झन्डै हृदयाघात भए जस्तो मलाई लाग्छ’ स्टोले भने।

२ करोड ५५ लाखमा बिक्री भएपछि चश्माका मालिक खुसी भएका छन् । कमजोर आर्थिक अवस्थाका उनले यो रकम आफ्नो छोरीसँग बाँड्ने बताएका छन् ।