Ad #144479

एजेन्सी । नेपालीहरूलाई धेरै हुनेमध्येको रोग हो । पायल्स सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्धारसँग सम्बन्धित छ । मानिसहरूको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ। यसमध्ये पायल्स रोग धेरै मानिसहरूको समस्या भएको छ।

लोकलाजका कारण धेरै मानिसहरूले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ। पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ। यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन।

कब्जियत नै पायल्सको मुल कारण हो । जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले भित्रका रक्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ । पायल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ।

पायल्स हुनुको कारण
पायल्स हुनुको मुख्य कारण खानपान र जीवनशैली नै हो । पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, चिया बढी पिउने, माछामासु तथा सुख्खा चीज जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढी खाने, अनियमित खानपान, अनिद्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तिको अत्यधिक प्रयोग, कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।

लक्षणहरू
यो रोग सुरु हुँदा मलाशय तथा गुदद्वारमा भारीपन बढ्ने, चिलाउने, दिसा नसकिने र अलि अलि दुख्ने जस्ता लक्षणहरू देखा पर्दछन् । रोग बढ्दै गएमा मलाशयका रक्त नलिहरू सुन्निने, फुट्ने भई अकस्मात रक्तश्राव हुने गर्दछ । सुन्निएका रक्त नलिहरू र वरिपरीका तन्तुहरू तल खस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पाजस्तो मासुका डल्ला–डल्लीहरू गुदद्वार वरिपरी देखिने गर्दछन् ।

के खाने/ के नखाने?
धेरैजसो पायल्समा अप्रेसन गर्नु पर्दैन। यसको मुख्य कारण कब्जियत हो। त्यसैले दिसा साह्रो हुनबाट जोगाउनु पर्छ। मासुलगायतका धेरै प्रोटिन हुने खानेकुरा, पिरो, चिल्लो र मसलाले पनि कब्जियत गराउँछ। हरियो तरकारी, सागपात र बढी झोल खाने हो भने कब्जियत हुँदैन।

ध्यानगर्नुपर्ने कुराहरु
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रों विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ । हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा बिस्तारै सुक्दै जान्छ ।