भारतमा पनि भाइरस देखिएसँगै सीमामा निकै कडाइ

१५ पुष, काठमाडौं । यूकेमा देखा परेको नयाँ प्रकारको कोरोना भाइरसका संक्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल-भारत सीमा नाकामा निगरानी र क्वारेन्टाइन नियम फेरि लागु गर्न लागिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउनेगरी विभिन्न निकायहरूसँग समन्वय भइरहेको छ ।

यूकेबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको र नयाँ प्रकारको कोरोना भाइरस भए र नभएको पुष्टिका लागि नमुना हङ्‌कङ पठाउन लागिएको मन्त्रालयले जनाएको छ ।  कोरोना भाइरस फैलिएको प्रारम्भिक चरणमा नेपाल-भारत सीमामा निकै कडाइ गरिएको थियो ।

यूकेमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस बिस्तारै विभिन्न देशमा फैलिन थालेसँगै नेपाल सरकारले यूकेबाट आउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। हाल नयाँ कोरोना भाइरसका संक्रमित भारतमा समेत भेटिएपछि नेपालमा पनि भित्रिन सक्ने चिन्ता बढेका छन्।

नेपाल-भारत सीमा खुला भएकाले भारतबाट कोरोना भाइरसको नयाँ प्रकार नेपाल भित्रिन सक्ने सम्भावना उच्च रहेको निष्कर्ष सरकारी निकायहरूले पनि निकालेकाे बीबीसीले जनाएकाे छ ।

[sidebar name="button post"]