१३ पुष, काठमाडाैं । देशभरका स्वास्थ्यकर्मी विभिन्न १८ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । एक महिनासम्म उनीहरूका मागको वास्ता नगरेको सरकारले देशभरका स्वास्थ्यकर्मी आन्दोलन उत्रिएपछि वार्ता टोली गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार वार्ता समितिमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम र प्रशासन महाशाखाका सहसचिव दामोदर रेग्मी सदस्य छन् ।
समितिका संयोजक डा। पोखरेलले केही दिनभित्र वार्ता गरी समस्या समाधान गर्ने बताए । नयाँ मन्त्री आएकाले वार्ताका लागि एक–दुई दिन लाग्ने उनको भनाइ छ ।
वार्ता टोली गठन भएको औपचारिक जानकारी आन्दोलनरत स्वास्थ्यकर्मीलाई दिइएको छ । उनीहरूको तर्फबाट पनि वार्ताका लागि सम्बन्धित व्यक्तिको नाम मन्त्रालयले माग्ने भएको छ । कोभिड महामारीको समयमा खाइपाई आएको सेवा–सुविधा कटौती, जोखिम भक्ता नपाएकोजस्ता विभिन्न १८बुँदे माग राखेर देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा छन् ।
विगतमा पटक—पटक माग राख्दै आएको भए पनि मन्त्रालयले बेवास्ता गरेको भन्दै नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिको नेतृत्वमा देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् । स्वास्थ्यकर्मीहरूले आइतबार राजधानीको माइतीघर मण्डलमा प्रदर्शनसमेत गरेका छन् । आन्दोलनलाई नेपाल चिकित्सक संघले पनि साथ दिएको छ ।
यसअघि स्वास्थ्यकर्मीहरूले माग पूरा गर्न मन्त्रालयलाई २१ दिनको अल्टिमेटम दिएका थिए । सरकारलाई दिएको अल्टिमेटमको अवधिमा पनि माग पूरा नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको चिकित्सक संघले जनाएको छ ।












