विद्यार्थी अस्मिता अधिकारी : सय रुपैयाँमा अध्ययन गराउने समता स्कुलदेखि करोड शुल्क लाग्ने आइग्लोनसम्म

समिता श्रेष्ठ

चितवनकी अस्मिता अधिकारीले विश्वकै महंगो कलेज स्वीट्जरल्याण्डको आइग्लोनमा छात्रवृत्तीमा पढ्ने अवसर पाउनुभएको छ । उहाँ पढ्न जाँदै गरेको कलेजको बार्षिक शुल्क मात्रै एक करोड रुपैयाँ बढी छ । विद्यार्थी अस्मिता अधिकारी सय रुपैयाँमा अध्ययन गराउने समता स्कुलदेखि करोड शुल्क लाग्ने आइग्लोनसम्म पुग्न सफल हुनुभएको हो ।

अवसर

अस्मिता अधिकारी २०६२ सालमा चितवनमा जन्मनुभएको हो । उहाँको परिवारमा आबाबुवा एक दिदी हुनुहुन्छ । उहाँ ट्याक्सी चालक हुनुहुन्छ भने आमा गृहणी । दिदी भखरै मात्रै समताबाटै प्लस टु को परिक्षा दिएर बस्नुभएको छ । चार जनाको परिवार काठमाण्डौको बौद्धमा भाडामा बस्दै आएको छ । अस्मिताले समताबाट ३ दशमलव ९ जीपीए ल्याएर एसईई उत्तीर्ण गर्नुभएको हो ।

निम्न वर्गिय हुर्केकी अस्मिताले अहिले विश्वकै महंगोमध्येको एक स्वीट्जरल्यान्डको आइग्लोन कलेजको छात्रवृत्ति प्राप्त गर्नुभएको हो । सय रुपैयाँमा अध्ययन गराउने समता शिक्षा निकेतन बौद्धको विद्यालयबाट विश्वकै महँगो स्कुलमा अध्ययन गर्न पाउने अवसर पाएकी अस्मिता भन्नुहुन्छ,‘यो मेरा लागि मात्रै नभएर परिवार र नेपाली विद्यार्थीको पनि सफलता हो ।

अध्ययनसँगै मेरो सानैदेखिको रुचि म्युजिकमा थियो र अहिले पनि छ ।’ अस्मिताले पढ्न जाँदै गरेको विद्यालय आइग्लोनको वार्षिक शुल्कमात्रै एक करोड रुपैयाँ माथि छ । यो सफलता मात्रै नभई आफू, आफ्नो विद्यालय र देशका लागि अझै राम्रो पढ्नु र गर्नु चुनौती पनि रहेको उहाँ बताउनुहुन्छ ।

समतामा ५ वर्ष

उहाँले समता शिक्षा निकेतन बौद्धमा अध्ययन गर्न थालको ५ वर्ष भयो । यो भन्दा अगाडि चाबहिलको लुम्बिनी एकेडेमीमा अध्ययन गर्नुभएको थियो । बौद्धमा कोठा भाडामा बस्दा राम्रो र कम शुल्क एक सयमा पढाउने विद्यालय समता भएका कारण कक्षा ६ देखि समतामा अध्ययन गर्न थालेको उहाँ बताउनुहुन्छ ।

‘म एउटा निम्न आयस्रोत भएको परिवारबाट आएको विद्यार्थी हुनलो घरको आर्थिक अवस्थाले पनि सहजै पढ्ने वातावरण थिएन । तर पढ्नकै लागि आर्थिक समस्या नहुने अनि सबैभन्दा राम्रो विद्यालय मध्येको एक समता भएका कारण यो विद्यालय नै मेरो रोजाईमा परेको हो’उहाँ भन्नुहुन्छ,‘अहिले यसै विद्यालयको विद्यार्थी भएको कारणले विदेशमा गएर पढ्न पनि पाउँदैछु ।

मैले विदेशमा गएर पढौँला भन्ने कहिल्यै सोचेकी थिइनन् । त्यसमाथि विश्वकै महंगो विद्यालय मध्येको एक स्वीट्जरल्यान्डको आइग्लोनमा गएर पढ्छु भन्ने सोच्नु त परको कुरा हो ।’

छात्रवृत्तीमा छनोट हुँदाको खुसी

विद्यार्थी अस्मिता भन्नुहुन्छ,‘स्वीट्जरल्याण्डको आइग्लोन कलेजबाट पुरै छात्रवृत्तीमा छनोट हुँदा एकदमै खुसी लाग्यो र थोरै डर पनि लागेको छ । सबै परिवार पनि खुसी नै हुनुहुन्छ र परिवारबाट विदेश गएर पढ्न लागेको पहिलो सदस्य भएको हुनाले डर पनि लागिरहेको छ ।

यो छात्रवृत्तीको लागि आफू छनोट हुन्छु जस्तो कहिले लागेको थिएन । किनभने प्लस टु बाट विद्यार्थी छनोट गरेर लैजाने कुरा भएको थियो । स्वीट्जरल्यान्डको आइग्लोन कलेजबाट आउनु भएका कार्यकारी निर्देशक रिचर्ड म्याकडोनाल्डले प्लस टु संग कुरा भैसक्यो पछि हामीसंग पनि कुरा गर्ने मात्रै भनेर बोलाउनु भएको थियो । त्यसकारण छात्रवृत्तीको लागि आफू छनोट हुन्छु भनेर लागेको थिएन ।

यो छात्रवृत्तीको लागि छनोट हुनुभन्दा पहिले उहाँले (रिचर्ड) म लगायत सबै विद्यार्थीहरुसँग मौखिक अन्तर्वार्ता लिनुभएको थियो । उहाँले अन्तर्वार्तामा रुचि, परिवारको अवस्था, पढाइका बारेमा सोध्नुभयो । जब म छात्रवृत्तीको लागि छनोट भए त्यसपछी लिखित र अन्य सबै कुराहरु पूरा गरेको हो । यो छात्रवृत्ती र मौखिक रुपमा अन्तर्वार्ताको लागि उहाँहरु कक्षा १० को दोस्रो परिक्षा हुँदै गर्दा आउनु भएको थियो । अनि म छात्रवृत्तीको लागि छनोट भएको हो ।’

जनवरी १० मा स्वीट्जरल्यान्डको आइग्लोन जाँदै

छात्रवृत्ती पाएपछि अस्मिता आउँदो जनवरी १० मा स्वीट्जरल्यान्डको आइग्लोन जाँदै हुनुहुन्छ । त्यसका लागि मोटिभेसनल भिडियोहरु हेर्ने र अरु तयारी भैरहेको उहाँ बताउनुहुन्छ । ‘मेरो समताका शिक्षकहरुले पनि राम्रो पढ्नु, राम्रो गर्नु भन्नुभएको छ । म आज जे छु समता स्कुलको कारण अनि त्यहाँ पढाउने टिचर एवम् त्यहाँको सबै स्टाफहरुको कारणले हो ।

मैले यो छात्रवृत्ती पाएको नै समता स्कुलको कारणले हो । मलाई यो मौका प्राप्त गर्न सक्षम बनाउनु भएकोमा सम्पुर्ण समता स्कुल परिवारलाई धेरै धेरै धन्यवाद । मैले आफ्नो उत्कृष्ट प्रयास र लगनशिल भएर समताको नाम राख्ने कोशिश गर्नेछु । अनि समताबाट आउने नयाँ पुस्ताको लागि मार्गदर्शन गर्ने काम गर्नेछु ।’

समता शिक्षा निकेतनका प्राचार्य अजय अधिकारी सुशील

विद्यालय परिवारले अस्मितालाई लगनशिल र राम्रो गर्न उत्प्रेरित गर्दै आएको छ । पछि जाने विद्यार्थीका लागि अवसरको ढोका खोल्न पनि अस्मिताले राम्रो गर्नुपर्ने दायित्व छ ।

आफ्नो विद्यार्थीलाई समता शिक्षा निकेतनका प्राचार्य अजय अधिकारी सुशील भन्नुहुन्छ,‘स्वीट्जरल्यान्ड जस्तो देशमा हामी जस्तो मध्यम वर्गिय परिवारबाट जानु र दुई चार दिन बिताउनु भनेको पनि कल्पना बाहिरकै विषय हो ।

त्यस्तो देशमा र विश्वको पहिलो, दोस्रोमा परिरहने त्यति महंगो स्कुलमा एक सय रुपैयाँमा पढ्दै गरेको विद्यार्थीले पूरा छात्रवृत्तीमा पढ्न पाउनु भनेको पनि सोच्नै नसक्ने कुरा हो । त्यस्तो कलेजमा हाम्रो विद्यालयबाट विद्यार्थी अस्मिता जाँदै छिन् ।

यसले गर्दा अस्मिताले छात्रवृत्ती पाउँदा समतामा अध्ययन गर्ने अन्य थुप्रै विद्यार्थीहरु उत्साहित हुनुभएको छ । त्यहाँ गएर हामी पनि अस्मिता दिदीले जस्तै पढ्न सक्छौ भन्ने आश विद्यार्थीहरुमा जागेको छ ।’

[sidebar name="button post"]