१० पुष, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको जनाएको छ । महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसमा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको हो ।
चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
यस्तै माैसमी बुलेटिन अनुसार बादल हटेसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ । बुधबार र बिहीबार बिहान बादल लागे पनि शुक्रबार आज बिहानैदेखि आकाश खुला भएकाले चिसो बढेको हो ।
काठमाडौंमा हिजोभन्दा आज २ डिग्री तापक्रम घटेको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
आज अधिकतम तापक्रम १९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । तराई र पहाडका केही ठाउँमा हुस्सु र कुहिरो भने लागेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए ।
आज दिउँसो पहाडी केही ठाउँमा आंशिक बदलीको सम्भावना छ । त्यस्तै प्रदेश एकमा राति आंशिक बदली रहने अनुमान गरिएको छ । अरु ठाउँको मौसम भने सफा रहने अनुमान छ ।









