Ad #144479

समिता श्रेष्ठ

जीवन आफ्ना लागि मात्रै होइन अरुका लागि पनि जिउने गर्नुपर्छ । जन्म अनिश्चित हो भने मृत्यु निश्चित छ । यो सात्स्वत सत्य नै हो । त्यसैले मानव जीवन आफ्ना लागि मात्रै नभई अरुको लागि पनि समर्पण गर्नुपर्छ ।

मानव जीवन मानवकै सेवामा लगाउन सके सार्थकता प्राप्त हुन्छ । यी र यस्तै सकारात्मक भाव र कर्ममा विश्वास राख्नुहुन्छ, सुमित्रा चौलागाईं । उहाँले आफ्नो जीवन मानव कल्याणमा समर्पित गर्नु भएको छ ।

सुमित्रा चौलागाईंको जिवनी

विसं २०४७ साल चैत्र २९ गते मकवानपुरको हेटौंडामा जन्मनु भएको हो । परिवार हेटौंडामा नै हुनुहुन्छ । उहाँ काठमाडौंको भक्तपुरमा मानव कल्याण समाजको स्थापना गरी त्यहि बस्नुहुन्छ । कारणले सडक पेटिमा कष्टकर जीवन यापन गर्दै आएका असाह्य, अनाथ, अपाङ्गता भएका व्यक्ति र मनरोगीहरुलाई आफ्नो संस्था मानव कल्याण समाजमा आश्रय दिने र उनीहरुको सेवा गर्नुहुन्छ । उहाँ मानव कल्याण समाज (सेवा घर) को अध्यक्ष हुनुहुन्छ । उहाँलाई मानव सेवामा नै लिप्त भएर काम गर्न मन पर्छ ।

उहाँको बाल्यकाल देखि नै स्वभाव सेवा भावमा थियो । उहाँ बाल्यअवस्थामा हुँदा उहाँको आमाबुबाहरुले गरिब, दुखी र भिक्षुहरुलाई खाना खुवाउने, आफ्नोमा भएका खाद्यान्न सामाग्री तथा तरकारी आदि दिएको देख्दा उहाँमा पनि आफू भन्दा कमजोर व्यक्तिहरुको सेवा गर्नुपर्ने भाव जागेको थियो ।

आमाको सेवा भावको छाप परेको हुनाले सानैदेखि मानव सेवालाई नै सबैभन्दा ठुलो धर्मको रुपमा हेर्ने गर्नुहुन्थ्यो । सुमित्राले हेटौंडा कलेजबाट नै शिक्षा बिषयमा स्नातक पूरा गर्नुभयो । अहिले कानुन बिषयमा नेपाल ल क्याम्पसबाट स्नातक अध्ययन गर्दै हुनुहुन्छ ।

उहाँलाई हाते सिपहरु जस्तैः सिलाई, बुनाई, कटाई जस्ता सिप सिक्नु मन पर्थो । उहाँले आफुमा भएको कलालाई प्रयोग गर्दै आफ्नो गाउँमा महिलाहरूलाई सबल बनाउनको लागि निशुल्क सिलाई बुनाई, मैनबत्ती बनाउने तालिम दिने गर्नु हुन्थ्यो ।

काम र सेवाकार्यको थालनी

माध्यमिक शिक्षा उर्तिण गर्ने बित्तिकै उहाँले रेडियो थाहा संचारमा काम पाउनुभयो । झण्डै ९ वर्ष सञ्चार क्षेत्रमै हेटौंडामा काम गर्नुभयो । त्यसपछी २०७२ सालमा काठमाडौँ आएकी उहाँले २ वर्ष रेडियो मिर्मिरे र जनता टेलिभिजनमा काम गर्नुभयो । गोसाइँकुण्ड हेल्थ केयर सेन्टरमा बिरामीहरुलाई काउन्सिलिङ, रिपोर्टिङहरु पनि गर्नुभयो ।

त्यहि क्रममा एक दिन बाटोमा एक बेवारिसे ९ महिनाकी गर्भवती देख्नुभयो । लट्टा परेको कपाल, आधा शरिरमा मात्रै लगाएको कपडा, खुट्टामा चप्पल नभएको, दयनीय अवस्थामा देखेपछि मन थाम्नै नसकेर यहि क्षेत्रमा काम सुरु गरेको सुमित्रा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ,‘त्यसपछि सडकमा भएका बेवारिसेबारे अध्ययन अवलोकन सुरु गर्न थालें । विभिन्न संस्थाहरुमा गएर सहयोग गर्ने र त्यहाँ दृश्य अवलोकन गर्ने गर्थे । मैले समाज कल्याण समाजको स्थापना गर्नुभन्दा पहिले सुरु सुरुमा आफ्नो जन्मदिन वा कुनै पनि शुभकार्यको अवसरमा विभिन्न आश्रमहरुमा जाने र खाने÷खुवाउने, विभिन्न आफुले सकेको अन्य सहयोगहरु गर्ने गर्थे ।’

मानव कल्याण समाजको स्थापना

आश्रम जाने, बाटोमा देख्ने बेवारिसेहरुलाई सहयोग गर्ने गर्दै गर्दा आफूले पनि सेवा कार्यमा अगाडि बढ्न पर्छ भन्ने लाग्यो । त्यसपछि काठमाडौं, भक्तपुर र ललितपुरमा बेवारिसे क्षेत्रमा काम गर्ने संस्थाबारे अनुसन्धान गर्यौ । त्यो अनुसन्धानबाट काठमाडौं र ललितपुरमा धेरै संघसंस्था रहेको तर भक्तपुरमा बेवारिसेको क्षेत्रमा काम गर्ने संस्था छैन जस्तो लाग्यो । त्यसपछि भक्तपुरमा हाम्रो मानव कल्याण समाजबाट सेवालाई भूकम्पपछि २०७२ सालमा अनौपचारिक रुपमा सुरुवात गर्यौ ।

अनौपचारिक रुपमा सेवा गर्दा गर्दै २०७५ साल बैशाखदेखि औपचारिक रुपमा संचालन गरेको हो । यो संस्थाको मुख्य उद्देश्य बेवारिसे सडक मानव मुक्त भक्तपुर बनाउनु हो । यसका लागि संस्था मार्फत बेवारिसे, घरपरिवारद्वारा त्यागिएका, मानसिक सन्तुलन गुमाएका, असाह्य, अनाथ, दीनदुःखीहरु जो सडकमा बस्दै आईरहनु भएको छ, उहाँहरुको उद्धार गर्ने काम हुन्छ ।

त्यस्तै कोहि पनि बेवारिसे भएर सडकमा एकल जीवन यापन गर्न नपरोस् भनेर कार्यक्रम पनि चलाउदै आएका छौँ ।’

मनकारीबाट संस्था सञ्चालन

संस्था मार्फत् हालसम्म दुई सय हाराहारीमा सडक मानवहरुको उद्धार भएको छ । त्यस मध्ये ७५ जनाको परिवारसंग पुनःस्थापना र २३ जनाले संस्थामा नै शरीर छोडनुभयो । उहाँहरुको संस्थाले अन्त्येष्टि गर्यौ ।

अहिले संस्थामा १५ जना छोराछोरी र ८० जना बेवारिसे आमाबुबा हुनुहुन्छ । यो संस्था भक्तपुरबासी र अन्य मनकारीबाट चल्ने गरेको छ । उहाँहरुले जन्मदिन, विवाह, व्रतबन्ध, चौरासी, वैवाहिक कार्यक्रम, वार्षिकी, पितृकार्य जस्ता अवसरमा खाना खुवाउने, मुठी दान गर्ने गर्नुहुन्छ । यो संस्थामा कुनै बिदेशी डोनरहरु हुनुहुन्न ।

अहिले मानव कल्याण समाजको बिकास र बिस्तार काभ्रे र दाङमा पनि रहेको छ ।

बिगतमा गरेका संघर्षका दिनहरु

बिगतका गरेका संघर्षबारे सुमित्रा भन्नुहुन्छ,‘यो संस्था सुरुवात गर्दा १५ जना आमाबुबाको लागि खाद्यान्न अभाव हुँदा मन्दिर मन्दिरमा गएर पुजारी बा हरुसंग रातो अबिर मिश्रित चामल मागेर र आधा मुल्यमा किनेर पनि ल्याएका छौँ । त्यो समयमा कसैले सङ्का गर्नु हुन्थ्यो त कसैले माया गरेर यत्तिकै पनि दिनुहुन्थ्यो । त्यसरी ल्याएको चामल आमाबुबालाई खुसी भएर पकाएर खान दिन्थौँ । धेरै उतारचढावहरु पार गर्दै सडक बेवारिसे मानवहरुको लागि काम गर्दा जाँदा धेरैजनाले गर्न सक्दैन कस्तो काम गरेको होला भन्ने जस्ता कुरा गर्नु भएर डिमोटिभेट गर्नु हुन्थ्यो ।

आफ्नै परिवार र साथीहरूलाई पनि यो काम मन परेको थिएन । कुनै बेला आफ्नै साथीभाईहरुसंग भेट हुँदा पनि आफुलाई देख्दा पनि नदेखे जस्तो नचिनेको जस्तो गरेर जाने गर्नु हुन्थ्यो । यस्तो व्यवहारले साह्रै दुख लाग्थ्यो ।

हामिले सेवा घरमा जस्ता र फलामले कम्पाउड घेरेको थियौं। त्यसको १८ हजार तिर्न नसक्दा कल रिसिभ गर्न डर लाग्थो । बाटो अर्कै गरेर हिड्ने गर्थें । यस्तो गर्दा आफैलाई पीडा हुन्थ्यो । यस्ता धेरै नै संघर्षका दिनहरु थिए, र भोली पनि हुन्छन्, जुन केही शब्दहरुमा व्यक्त गरेर सकिदैन । पहिले पहिले अब बेवारिसे बालबालिका उद्दार गरेर ल्याउदा खेरि अस्पताल लैजान खर्च हुँदैन थियो । आर्थिक समस्याहरु धेरै नै हुने गर्थो ।’

बिर्सनै नसक्ने र आत्मसन्तुष्टीका क्षण

‘अहिले अस्पताल र डाक्टरहरु चिनेको छ, सजिलो हुन्छ । पहिले कोहि चिनेको थिइन, गाह्रो हुन्थ्यो’उहाँ भन्नुहुन्छ,‘साना साना नानी बाबु रुन्थे । खुवाउन दुधसम्म पनि किन्ने पैसा हुँदैन थियो । हामी जम्मा ७ जना मात्रै थियौ । अहिले झण्डै २१ जना जति अभियान्ताहरु हामीसँग जोडिनु भएको छ ।’

‘फलाम र जस्ताको पैसा तिर्नु नसक्दाको क्षण र आमाबुबाहरुलाई हाम्रो सेवा घरमा शाकाहारी भोजन मात्रै गराउँछौ भन्दा मासु खान पाए हुन्थ्यो भन्नेहरुलाई पैसा नभएर खुवाउन नसक्दाको पिडा बिर्सन नसक्ने छ ।’

कठिनाईसँगै खुसीका पलहरु पनि छन् । जब हामिले आमाबुबाहरु, बेवारिसे, अपाङ्ग, मनोरोगी सडक मानवहरु सेवा घरमा ल्याउँथ्यौ । सुरु सुरुमा उहाँहरुलाई त्यो मन पर्दैनथ्यो । बाटोमा खुल्ला रुपमा हिडिँरहनु भएकाहरुलाई थुनुवा जस्तो हुनुपर्ने भएकाले गाली गर्ने, नुवाईधुवाई गर्दा उल्टै पिट्नुहुन्थ्यो । कतिले त हातमा टोक्नु भएर घाउ पनि बनाउनु भएको थियो । त्यस्तो अवस्था पार गरेर उहाँहरुलाई सेवा गरेको केहि समयपछि उहाँहरुले बिस्तारै हामीलाई चिन्ने, माया गर्ने बहिनी, छोरी भनेर बोलाउनु हुन्छ ।

सेवा घरमा ल्याएर मनोरोगीहरु लागि औषधि उपचार गरेर ठिक भएपछी परिवार सझनु हुन्थ्यो । अनि हामीले परिवारसंग पुर्नमिलन पनि गराउँथ्यो । सडकबाट ल्याएर सेवा गरेर सेवा घरको आँगनबाट पुनःस्थापनाको त्यो क्षण जति आनन्दित क्षण गरु कुनै लाग्दैन । त्यो क्षण हाम्रो लागि स्वर्गीय आनन्दको क्षण हो । यस्तो धेरै क्षणहरु हामीले पार गरेका छौ । त्यसै कारणले पनि सेवामा लिप्त भएर काम गरिरहने खुसीको नशा लाग्ने गर्छ ।

हिजो र आजमा परिवर्तन

हिजो धेरैले बिश्वास नगर्दा त हामीले त्यती धेरै गर्यौ । अहिले त सेवा घरलाई धेरै नै बिश्वास गर्नु भएको छ । अहिले त स्थानीय सरकार र प्रदेश सरकारको पनि बिस्तारै सहयोग पाईरहेका छौ । हामी अझै धेरै गर्न सक्छौ भनेर मनोबल बढेको छ । सडकमा कसैलाई पनि नराख्ने र सडकमा कोहि पनि बेवारिसे हुन नदिन ट्रेनिङ मार्फत् अभियानहरु जस्तै सकारात्मक साेंच, समाज ब्यवस्थापन, खुसीबारे केन्द्रित छन् ।

आमाबुबा र बालबालिकाहरुको सेवामा २४ घण्टा नै लागिरहेको छौँ । हाम्रो लक्ष्य नै सडकमा बेवारिसे मुक्त समाज बनाउने रहेको छ ।

धर्म गर्न मन्दिर जानु पर्दैन

हाम्रो परिवार आफू भन्दा कम भाग्यमानी असाह्य, अपाङ्ग, जेष्ठ नागरिक, बालबालिका, मनोरोगीहरु हुनुहुन्छ । उहाँहरुलाई हेला नगरेर माया, प्रेम, स्नेह दिएर घरमै बस्ने बाताबरण बनाईदिउँ । हाम्रो परिवारको मान्छे भोलि समाजमा घृणाको पात्र बन्नु नपरोस् । यदि हाम्रो परिवारमा भएका सदस्यहरुलाई घरमै सेवा दिन सके घर नै मन्दिर बन्छ ।

धर्म कमाउनु मन्दिर जान पर्दैन, अनि मानव कल्याण समाज (सेवा घर) हामी सबैको घर हो । त्यहाँ जतिबेला आएर पनि अवलोकन गर्नु सक्नुहुन्छ । हाम्रो कमिकमजोरी देख्नु भएमा सल्लाह, सुझाव दिन र सेवामा हात बढाउन सक्नुहुन्छ ।

अहिले सेवा घर १५ जना छोराछोरीहरुको अभिभावक बनेर काम गरेको छ । उनीहरुको शिक्षा ,स्वास्थ लगायतमा आफ्नो क्षेत्रबाट पनि सहयोग गर्नु सक्नु हुन्छ । ‘सेवा घर सेवामै सर्मपित छ, कर्ममा विश्वास गर्ने सुमित्रा भन्नुहुन्छ,‘आफ्ना लागि मात्रै बाँचे एक दिन मरण हुन्छ तर अरुका लागि बाँच्नेको सधै स्मरण हुन्छ ।’