Ad #144479

४ पुस, पशु कल्याणसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दे आएको स्नेहा केयर नामक सामाजिक संस्थाले पशुपन्छीमाथि हुने दुर्व्यबहार तथा क्रुरतालाई अन्त्य गर्न पशु कल्याण ऐनको माग गरेको छ । पशु स्वास्थ्य, खाद्य सुरक्षा तथा उत्पादनमा पशुु कल्याणका सवाललाई सम्बोधन गर्न संस्थाले सरोकारवाला पक्षसँग हालै गोष्ठी गरी पशुसेवा विभागको अगुवाइमा उक्त ऐनको मस्यौदा तयार भई मन्त्रालयमा पुुगेको जनाएको छ ।

पशु कल्याण निर्देशिका २०७३, पशु ढुवानी मापदण्ड २०६४, मुलुकी अपराध संहिता ऐन २०७४, मा पशु कल्याणका सवालमा सम्बोधन गर्न खोजेको भए पनि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने संस्थाका कार्यकारी प्रमुख कपिल काफ्लेले बताउनुुभयो । पशु कल्याणको विषयलाई व्यवस्थित बनाउन स्थानीय तहमा दक्ष जनशक्ति तयार तथा पूर्वाधारको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो ।

पशु कल्याणका क्षेत्रमा क्रियाशील सो संस्थाले काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका तीन हजार जनावरको उपचारमा सहयोग पुरयाएको छ । छाडा पशुचौपाय, सामुुदायिक कुकुर उपचार, उद्धार, पुनःस्थापनाका साथै रेबिजविरुद्ध खोप लगाउने काममा सहयोग गरेको जनाएको छ ।

गत वर्ष तराईका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक विपत्तिको समयमा कैलालीमा गाई, भैँसी, कुकुरलगायत दुुई हजार पशुको उपचार गरेको संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिनुुभयो । संस्थाले वार्षिक १० हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरेको जनाएको छ भने देशका विभिन्न ५०० विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।