Ad #144479

३ पुस, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ। जसमा महिला ३०५ जना र पुरुष ४७७ जना छन्।

यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। २ लाख ४१ हजार ३९२ जना सङ्क्रमित निको भएसँगै नौ हजार ३१७ जना सङ्क्रमित सङ्क्रमित छन् भने  पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु भएको छ। त्यससँगै जम्मा मृतकको सङ्ख्या एक हजार ७६५ पुगेको छ।

वाग्मतीपछि लुम्बिनी र सुदूरपश्चिम

सबैभन्दा धेरै सक्रिय सङ्क्रमित वाग्मती प्रदेशमा पाँच हजार ५२७ जना छन्। उक्त प्रदेशमा एक लाख ३१ हजार ७४३ जना निको भएका छन् भने ८८८ जनाको मृत्यु भएको छ।

वाग्मतीपछि धेरै लुम्बिनी प्रदेशमा एक हजार १५२ जना सक्रिय सङ्क्रमित छन्। त्यहाँ २६ हजार ६६६ जना निको भएका छन् भने २२२ जनाको ज्यान गएको छ।

सक्रिय सङ्क्रमित धेरै हुने तेस्रो स्थानामा सुदूरपश्चिम प्रदेश छ।

एक हजार ४३ जना सक्रिय सङ्क्रमित रहेको उक्त प्रदेशमा १२ हजार ५०३ जना निको भएका छन् भने ५१ जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेशमा ९९२ जना सङ्क्रिय सङ्क्रमित छन् भने त्यहाँ १५ हजार २६९ जना निको भएको र १६० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

सबैभन्दा कम प्रदेश २ मा

प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या ३७७ छ। त्यहाँ २८ हजार ८१३ जना निको भएको उक्त प्रदेशमा २११ जनाले ज्यान गुमाएका छन्।

कर्णाली प्रदेशमा १५२ जना सक्रिय सङ्क्रमित छन्। त्यहाँ छ हजार १३५ जना निको हुँदा २४ जनाको मृत्यु भएको छ।सुरुमा निकै धेरै सङ्क्रमित देखिएको प्रदेश २ मा सबैभन्दा थोरै सक्रिय सङ्क्रमित बाँकी छन्।

मन्त्रालयका अनुसार ७४ जना सङ्क्रिय सङ्क्रमित रहेको उक्त प्रदेशमा २० हजार २६३ जना निको भएका छन् भने २०९ जनाको ज्यान गएको छ।

सङ्क्रमित मध्ये २८३ जनाको सघन उपचार कक्ष र ४९ जनाको भेन्टिलेरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिबिसी