३० मंसिर, काठमाडौं । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्साबाट खाद्यान्नसहित दैनिक उपभोग्यवस्तु ढुवानी सुरु गरिएको छ । करिब ९ महिना कोरना सङ्क्रमण र तीन महिना हिमपातले बन्द रहेका हिल्सामा पुगेर ८ वटा टिपरले खाद्यान्न ल्याउन थालेका हुन् ।
सदरमुकाम सिमकोटबाट गएका टिपर हिल्सा पुगेर सोमबार फिर्ता भएका छन् । यही मंसिरको पहिलो साता नारा र यारी लेकमा परेको हिउँ स्थानीयवासीले बेल्चाको सहायताले पन्छाएपछि गाडी हिल्सा पुगेर फिर्ता भएको हाे ।
कोरोना जोखिमले सीमा नाका बन्द भएपछि गत वर्ष हिल्सामै टिपर रोकिएका थिए । ती टिपरमा खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री रहेका थिए । सिमकोटमा रहेका पसलमा समेत चिनियाँ सामग्री अभाव रहेको थियो ।
यस्तै चीनबाट लकडाउनपछि पहिलो पटक १२ वटा गाडीले हिल्सासम्म पुगेर सामग्री पुर्याएका थिए । एक वर्षदेखि ताक्लाकोटमा रहेका व्यापारीले दुई करोड ५३ लाख मूल्यका मैदा, चामल, तेल, चिया, जुत्ता, कम्बललगायतका सामान खरिद गरेका थिए । उनीहरुले गाडीमा सामान ढुवानी गरेर नेपाल पठाएको ताक्लाकोटमा रहेका कैलाश व्यापार महासङ्घका उपाध्यक्ष पेमा लामाले जानकारी दिए ।












