Ad #144479

२८ मंसिर, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका धेरैजसो ठाउँमा कुहिरो लागेको छ । चिसोका कारण कुहिरो लागेको मौसम पूर्वानुमानले मौसमी बुलेटिन मार्फत जनाएको हो ।

महाशाखाका अनुसार आज दिउँसो पनि तराईमा राम्रोसँग घाम लाग्ने सम्भावना छैन । दिउँसोतिर केही ठाउँमा कुहिरो हटे पनि केही ठाउँमा भने रहने छ। यस्तै दिउँसो प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक बद्लीको सम्भावना छ । प्रदेश १ को पहाडी भूभागका एकरदुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

तराईमा कुहिरो तथा अरु केही ठाउँमा आंशिक बद्ली कारण बिहानीपख भिजिबिलिटी कम भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ ।

यसैबीच काठमाण्डौ उपत्यकामा आज एकैदिन झण्डै ४ डिग्री सेल्सियस कम तापक्रम मापन गरिएको छ । उपत्यकामा हिजो न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएकोमा आज ५ डिग्री सेल्सियसमा झरेको छ ।