२७ मंसिर, दमक । झापाको गौरादह र कमलको सिमानामा पर्ने लालपानी ‘किस्ने’ खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । गौरादह नगरपालिका–१ र कमल गाउँपालिका–२ स्थित देवीचौन जोडिने सो खोलामा आज आयोजित कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र संविधानसभाका सदस्य दीपक कार्कीले संयुक्तरूपमा पुलको शिलान्यास गर्नुभयो ।
सो अवसरमा मन्त्री कार्कीले कमल र गौरादहका बासिन्दालाई पुल निर्माणले सुविधा पुग्ने बताउनुभयो । पुल निर्माण समयमा सम्पन्न गर्न निर्देशन दिनुहुँदै उहाँले प्रदेश सरकारबाट पुल निर्माणमा बजेटको अभाव हुन नदिनेसमेत प्रतिबद्धता जनाउनुभयो ।
कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले पुल निर्माणपश्चात कमल र गौरादहका बासिन्दाले खेप्नुपरेको सास्तीको अन्त्य हुनुका साथै दुवै पालिकाको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । प्रदेश सरकारको रु पाँच करोड १४ लाख ७९ हजार लागतमा ४०.८७ मिटर लम्बाइ लामो हुनेछ ।
आगामी २०७९ असार २० गतेसम्म पुल निर्माण पूरा हुने गरी काम थालिएको भौतिक पूर्वाधार विकास कार्यालय भद्रपुरका प्रमुख रमेशकुमार श्रेष्ठले बताउनुभयो ।












