समिता श्रेष्ठ
ज्योतिषशास्त्र र ज्योतिष विज्ञान अध्ययन गर्नेहरु ब्राह्मण नै हुनुपर्छ भन्ने विगतको मान्यता विस्तारै बदलिदै गएको छ । ज्योतिष शास्त्र विषय ब्राह्मणबाहेक अरुले पनि अध्ययन गर्न सक्छन् । यसको उदाहरण हुनुहुन्छ, अनिल थापा । थापा क्षेत्रीको छोरो तर ज्योतिष हुनुहुन्छ ।
परिवार र अध्ययन
युवा ज्योतिष तथा वास्तु अनुसन्धानकर्ताको रुपमा परिचित अनिल थापा २०४५ साल बैशाख १६ गते सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा जन्मिनुभएको हो । उहाँको परिवारमा बुवा आमा, श्रीमती र छोराछोरी हुनुहुन्छ । उहाँको रुचि सानैदेखि गित गायन, वादक र नाचमा थियो । त्यसैअनुरुप बाल्यकाल रमाउँदै पढ्दै बित्यो । उहाँले आफ्नै गाउँकै सनराईज अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयबाट आफ्नो माध्यमिक तहको अध्ययन पूरा गर्नुभयो ।
उहाँले एकेडेमिक पढाई स्नातक तहसम्म बिजनेस स्टडीमा पुरा गरीसक्नुभयो । अहिले शास्त्रीय अध्ययन सिक्दै हुनुहुन्छ । हाल उहाँ ज्योतिष शास्त्र विषयको अध्ययन नेपाल ज्योतिष परिषद् मार्फत काठमाण्डौको डिल्लीबजारबाट गर्दै हुनुहुन्छ । उहाँको हजुरबुबा र हजुरआमा धर्मकर्ममा निक्कै लगाव राख्नुहुन्थ्यो । धार्मिक वातावरणमा हुर्केको हुनाले उहाँमा पनि धार्मिक रुचि बाल्यकालदेखि नै थियो । उहाँको बाल्यकालदेखि नै ध्यान साधनमा लिप्त हुने स्वभाव थियो ।
ज्योतिषशास्त्रमा रुचि र प्रवेश
उहाँ गाउँ घरमा आएका ज्योतिषहरुले हात हेरेर भुत, वर्तमान र भबिष्यबारे भन्दा अचम्ममा पर्नुहुन्थ्यो र त्यसमा रुचि पनि राख्नुहुन्थ्यो । ज्योतिष शास्त्रतर्फ लगाब राख्ने उहाँ १५ वर्षकै उमेरमा २०६०/२०६२ सालतिर ज्योतिषशास्त्रमा प्रवेश गर्नुभयो । त्यसैको फलस्वरूप उहाँ अहिले युवा ज्योतिषको रुपमा आफ्नो परिचय बनाउन सफल हुनुहुन्छ ।
ज्योतिष शास्त्रबारे थापाको धारणा
ज्योतिषशास्त्रको परिभाषा हरेक ज्योतिष शास्त्रीहरु एवं गुरु अनुसार फरक फरक हुन सक्छ । तर शास्त्रले भनेको ज्योति र ईश अर्थात् इश्वर हो । त्यसकारण इश्वरीय ज्योतिको बारेमा परामर्श दिने शास्त्रलाई ज्योतिष शास्त्र भनिन्छ । यसलाई बेदको छैठौ अंग पनि भनिन्छ । उहाँ भन्नुहुन्छ,‘मेरो विचारमा आकाशमा रहेका खगोलिय पिण्डहरु तारा मण्डल, ग्रह मण्डलहरुको आधारमा पृथ्वीमा बसोबास गर्ने जिवजन्तु, मानवजातीको जिवनमा आईपर्न सक्ने उतारचढावहरुको गणित गणना नै ज्योतिषशास्त्र हो ।’
थापा अहिले ज्योतिषशास्त्रको अनुशन्धानमा हुनुहुन्छ । उहाँको अनुशन्धानको बिषय जन्म लगन कुण्डली, उसले कस्तो जीवन भोगाइहरु भोग्छन बारे छन् । त्यस्तै वास्तुशास्त्रको पनि अध्ययन गर्दै हुनुहुन्छ । ‘यो ज्योतिषशास्त्रको बिषय बिशाल छ । यसको अध्ययन गर्नुको लागि हाम्रो एक जन्मले भ्याउने कुरै होईन ।’
कुनै पनि ब्यक्तिको जन्म कुण्डली अनुसार भुत, बर्तमान र भबिष्यको बारेमा सजिलै आँकलन गर्न सक्ने एकमात्र शास्त्र ज्योतिष शास्त्र हो । त्यस्तै वास्तुशास्त्रले घरको बास्तुगत स्थितिबारे बताउने काम गर्दछ । यो साईन्ससंग पनि सम्बन्धित हुन्छ । यो बिषयको अध्ययन र अनुसन्धानबाट आत्मसन्तुष्टिको साथै धेरै ज्ञानको बिकास आफुमा भएको अनुभव स्वयंले गरेको छु । यसबाट नै मलाई आफ्नो जीवन चलाउन सजिलो पनि भएको छ ।
सबै शतप्रतिशत सहि भबिस्यबाणी:
थापा भन्नुहुन्छ, यो बिषयमा हरेक जात र क्षेत्रका ब्यक्तिले अध्ययन गर्नुपर्छ । यो बिषय अध्ययन गर्नु कठिन र गाह्रो छ तर इच्छाशक्ति भएमा सकिन्छ । तर लगनशील, ईमानदार भएर आफ्नो पुरा ध्यान शास्त्रमा नै दिएर यसको अध्ययन गर्नु आवश्यक छ । मैले अहिलेसम्म गरेका भबिष्यबाणीहरुमा कुनै गल्ती भएको जस्तो मलाई लाग्दैन र मेरो भबिष्यबाणीबारे जानकार ब्यक्तिहरुबाट पनि यस्तो कुनै प्रतिक्रिया आजको दिनसम्म आएको छैन ।’
ज्योतिषशास्त्रमा अनेकौं भागहरु छन् । जस्तै समुन्द्र शास्त्र, हस्तरेखा, अङ्क गणितीय, वास्तुशास्त्र जस्ता अनेकौं अनेकौं यसभित्र आउने गर्दछन् । तर ती मध्ये अन्त्यत महत्त्वपूर्ण हामी जुन बेला जन्मिऔ, जन्मेको नक्षेत्र र जन्म कुण्डलीबारे हेर्ने लगन, जन्म कुण्डली पूर्वीय दर्शन शास्त्रअनुसार जन्मेको जन्मकुण्डली अनुसार गरिने भबिस्यबाणी नै महत्वपूर्ण हुन्छ । सहि जन्म समय, तिथी मिती, स्थान मिलेको छ भने त्यो हेरेर गरेको भबिस्यबाणी मिल्ने नै गर्छ ।
अहिलेसम्म आएका प्रतिक्रियाहरु सबैको राम्रो नै आएको छ र नराम्रो आएको छैन । कुनै दिनमा नकारात्मक प्रतिक्रिया आएपनि त्यसलाई सहज स्विकार्दै किन मिलेन कसरी मिलेन भनेर अनुशन्धान तर्फ लाग्नेछु ।
अनुशन्धान र अध्ययन गरेर भबिष्यबाणी
कुनै ज्योतिष शास्त्रीहरुले अनुशन्धान र अध्ययन बिना नै भबिष्यबाणी गर्ने गरेको पनि पाईन्छ । अध्ययनबिनाको भबिष्यबाणी नगर्दा राम्रो हुन्छ । हरेक ज्योतिषशास्त्रीहरु पेशागत धर्म निर्वाह गर्दै अगाडि बढे जनमानसको मन जित्न सफल भएमा हाम्रो पुर्वीय दर्शन ज्योतिष शास्त्र नेपाल र भारतमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा नै पुग्न सक्छ ।
त्यसको साथसाथै ज्योतिष शास्त्रीहरुको ब्यवहार र आचरणमा शुद्धता गरेमा ज्योतिष शास्त्र र यसको क्षेत्रलाई अझ टेवा पुग्न सक्छ । ज्योतिष शास्त्र र वास्तुशास्त्रलाई कमाई खाने भाँडोको रुपमा प्रयोग गरेर जनमानसलाई अल्झाउनु हुँदैन । काम गरेपछि अहिलेको युगमा जीवन निर्वाहको लागि कमाउनु आवश्यक छ तर शास्त्रमा टिकेर ईमानदार भएर कमाउने गर्नुपर्छ ।
ज्योतिषशास्त्रमा लाग्न चाहने ब्यक्तिहरुलाई आफ्नो क्षमतामा विश्वास गरेर, अनुसन्धानमा आधारित भएर गर्दा यो क्षेत्रमा धेरै सम्भावनाहरु रहेको उहाँको भनाई छ । पुर्वज ऋषिमुनिहरुले गरेका गणनाहरु गलत छैनन्, त्यसलाई पछ्याएर सहि बाटो लिएर ईमान्दारिताका साथ शास्त्रमा आधारित भएर कसैलाई पक्षपात नगरी अघि बढ्न जरुरी छ । अनि मात्र ज्योतिष शास्त्रमा हरेकको विश्वास र आस्था कायम हुन सक्छ ।












