२६ मंसिर, काठमाडौं । संघीय संसदको समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितता बारेमा छलफल गर्न स्वास्थ्यमन्त्रीलाई बोलाएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेना मार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा छलफल गर्न संसदको लेखा समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बोलाएको हो ।
आगामी बैठकमा स्वास्थ्य मन्त्री ढकाललाई बोलाइएको लेखा समितिका सचिव डा.रोजनाथ पाण्डेले बताए । समितिले यस अघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पुरा नगरीकन ओम्नी समूह मार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन शुरु गरेको थियो ।
तर लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न सकेको थिएन् । अबको बैठकमा भने स्वास्थ्य मन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो । यस्तै समितिको बैठक लामो समय नबस्दा उजुरीको संख्या पनि बढेको छ । अहिलेसम्म एक दर्जन बढी उजुरी परेको पनि सचिव पाण्डेले बताए ।
विशेष गरी सार्वजनिक खरिद ऐनलाई कार्यान्वयन गर्ने शिलशिलामा भएका अनियमितताका कुराहरुलाई लिएर उजुरी परेको छ । सडक निर्माण, विद्युत प्राधिकरण मार्फत हुने ठेक्काको विषय लगायतका विषयमा उजुरी परेको छ ।












