शिक्षक हत्या : घाँटीमा धारिलो हतियारले रेटेरको अवस्थामा शव फेला

२३ मंसिर, काठमाडौं । मोरङमा आज बिहान अपहरण गरिएका शिक्षकको घाँटीमा धारिलो हतियारले रेटेर हत्या गरिएको खुलेको छ। उनको अज्ञात समूहले गोली हानी हत्या गरिएको भनिए पनि घटनास्थलमा पुगेको प्रहरी टोलीले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जानकारी दिएको छ।

स्थानीयले गोली हानेर हत्या गरेको भन्ने जानकारी गराएका थिए, तर घटनास्थल पुग्दा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको देखिएको छ ।  दुवै हात पिठ्युँ पछाडि बाँधेर घाँटीमा धारिलो हतियार प्रयोग गरिएको पाइएको छ। मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठलाई आज बिहान ४–५ जनाको समूहले अपहरण गरेर लगेको थियो।

 घटनास्थल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर संलग्नको खोजी कार्य शुरु गरिएको छ। अहिलेसम्म हत्या कसले गरेको भन्ने यकिन नभए पनि स्थानीय र प्रहरी स्रोतले भने प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले नै अपहरण गरेर हत्या गरेको दाबी गरेका छन्।

स्थानीयले शिक्षक श्रेष्ठलाई अपहरण गरेर लगेपछि गोली चलेको भन्दै प्रहरीलाई खबर गरेका थिए। त्यसैका आधारमा उनको गोली हानी हत्या भएको आशंका गरिएको थियो। मिक्लाजुङ पाँचथर र धनकुटाको सिमानामा पर्ने मोरङको विकट पहाडी क्षेत्र हो।

[sidebar name="button post"]