नेपाल र भारतबीच संयुक्त विजनेस फोरम गठन गरिने

२२ मंसिर, काठमाडौं । नेपाल-भारत अन्तरसरकारी समिति ‘आईसीजी’ को सचिवस्तरीय बैठक सोमबार सम्पन्न भएको छ। भर्चुअल माध्यमबाट दुई दिनसम्म चलेको बैठकले दुई देशबीचको व्यापार सहजीकरण गर्न नेपाल र भारत संयुक्त विजनेस फोरम गठन हुने भएको छ ।

दुवै देशका वाणिज्य सचिवहरूले नेतृत्व गरेको बैठकमा अनधिकृत व्यापार नियन्त्रण तथा व्यापार तथा पारवहनमा सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको छ। भारतका विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको बैठकमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँगै भारत सरकारका वाणिज्य वाणिज्यसचिव अनुप वाधवाले नेतृत्व गरेका थिए।

यस्तै, बैठकमा नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिए। आईजीसी दुई देशबीच व्यापार तथा लगानीलाई प्रवर्द्धन गर्ने प्रमुख द्विपक्षीय संयन्त्रको रूपमा रहेको छ। बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख अजेण्डामा भएका प्रगतिबारे समीक्षा गरिएको थियो।

यस्तै, बैठकमा व्यापार तथा पारवाहन सन्धिको पुनरावलोकन, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवर्द्धनका लागि भएका पहल तथा प्रयासबारे समेत छलफल भएको बताइएको छ।

वाणिज्य मन्त्रालयका अनुसार संयुक्त बिजनेस फोरमको गठन र दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामन्जस्यता कायम लगायतका विषयमा छलफल भएको छ। उक्त बैठकको तयारीका लागि यही मङ्सिर १८ देखि १९ सम्म अन्तरसरकारी उपसमितिको सहसचिवस्तरको बैठक बसेको थियो।

[sidebar name="button post"]