२२ मंसिर, काठमाडौं । निद्रा कम लाग्ने समस्या धेरै मानिसमा पाइन्छ। शरीरको स्वस्थ्यका लागि निद्रा अति आवस्यक हुन्छ। निश्चित समयमा भोक लाग्ने भनेजस्तै हामीलाई निश्चित समयमा निद्रा लाग्छ। तर पछिल्लाे समय चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ ।
विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका बदलिदिएको छ । राति अबेरसम्म काम गर्नु वा रात्रिकालीन काम गर्नु अब धेरैको बाध्यता बनेको छ ।
बढ्दो आवश्यकता र त्यसलाई धान्नका लागि गर्नुपर्ने कामको चापको कारण मान्छेको कार्यवधि लम्बिएको छ । यसले सोझो रुपमा निद्रामाथि प्रहार गरेको छ । धेरै व्यक्ति यस्ता छन्, जो पर्याप्त सुत्नै पाउँदैनन् । यसको असर भने उनीहरुको स्वास्थ्यमा देखिँदैछ ।
अनिद्रा वा पर्याप्त निद्राको अभावमा धेरैलाई दीर्घरोगको खतरा बढेको छ भने तनाव, बेचैनी जस्ता समस्या देखिन थालिएको छ ।रातभर काम गर्नुपर्ने बाध्यतामा रहेकाहरु मात्र होइन, रात्रिकालीन मनोरञ्जनमा लिप्त हुनेहरु, मोबाइल एवं ल्यापटपममा मग्न रहनेहरु पनि मस्त निदाउन पाइरहेका छैनन् । यसरी निद्रा बिथोलिएसँगै विभिन्न किसिमको मानसिक समस्या देखापर्न थालेको छ । स्लिप डिसअर्डरको ८० भन्दा बढी प्रकार हुन्छन् । साथै, यसको कारण हार्ट अट्याक, डिप्रेसन, हाइ ब्लडप्रेसर, स्मरणशक्तिमा ह्रास जस्ता समस्या देखिन्छन् ।
याे बिषयमा सुत्ने बानीबेहोरामा केही सुधार गरे मानिसहरूले आफ्नो ‘शरीरको घडी’ मा परिवर्तन गर्न सक्ने र स्वास्थ्यमा सुधार गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन । शरीरले प्रकाशप्रति विशेष प्रतिक्रिया देखाउँछ। तसर्थ शरीरलाई दिउँसो धेरै र राति कम प्रकाश देखाउनुपर्छ।सुत्ने र उठ्ने समयमा एकरूपता नहुँदा पनि शरीरको जैविक घडी अलमलिन्छ।
किन लाग्दैन निद्रा ?
हामीमध्ये धेरैलाई थाहा छ कि भरपुर निद्रा लिनु स्वास्थ्यका लागि अत्यन्तै आवश्यक छ । यो थाहा हुँदाहुँदै पनि हामी पर्याप्त निद्रा लिइरहेका छैनौं । कामको व्यस्तताले मात्र नभई फेसबुक जस्ता सामाजिक सञ्जालले पनि हाम्रो निद्रा बिथोलिदिएको छ ।
सुत्नुअघि कुनै आनन्दित गर्ने व्यायाम त हामी गर्दैनौं, त्यसमाथि आइसक्रिम, डेजर्ट् वा तातो कफी पिउने गर्छौं । यसले निद्रामा असर गर्छ । राम्रो त के हुन्छ भने हल्काफुल्का व्यायाम गरौं तर कडा व्यायाम पनि नगरौं जसले थकान महसुस गराउँछ ।
मस्त निदाउने घरेलु उपाय
- सुत्ने कोठा शान्त हुनुपर्छ।
- दैनिक शारीरिक व्यायाम गर्ने।
- दिउँसो भरसक नसुत्ने।
- सुत्नुअघि चिया, कफी नखाने। बढी वा थोरै भोजन नखाने। बेलुकाको भोजन पनि हलुका गर्ने।
- सधैं निश्चित समयमा सुत्ने बानी बसाल्ने। राति छिट्टै सुत्ने र बिहान पनि छिट्टै उठ्ने।
- सुत्ने बेलामा मात्र बिछ्यौनामा जाने।
- निद्रमा समस्या देखिन थालेपछि धूमपान र मध्यपान नगर्ने।
- सकेसम्म सुत्नुअघि मनतातो पानीले नुहाउने।








