१९ मंसिर, काठमाडौं । नेपाली सङ्गीत जगतका चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको आज ३० वर्ष पुगेको छ । नेपाली सङ्गीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी नेपाली जन जनको मनमा अहिले पनि जीवन्त छन् ।
आज उनै स्वर सम्राट गोपालको ३० औं स्मृति दिवस मनाइएको छ । वि सं १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिनुभएका गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो । आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका उहाँले स्वर सम्राटको उपाधि पनि पाउनुभएको हो । २०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिनुभयो । उहाँले आफ्नो गायन यात्रामा नेपाली भाषाका एक सय ३५ भन्दा धेरै गीत गाउनुभएको रेकर्ड छ ।
नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिनुभएको छ । यस्तै, उहाँले नेपाल भाषाका पनि गीत गाउनु भएको छ । नारायण गोपालले गाएका धेरै गीतमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ ।
उहाँले गाएका गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला, मलाई नसोध कहाँ दुख्छ घाउ, स्वर्गकी रानी, बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जानलाग्यो लगायतका गीत लोकप्रिय र अमर छन् ।
उहाँका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बदलिदिएको छ । हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उहाँका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएका छन् । उहाँका गीत राष्ट्रिय भावले ओतप्रोत रहेका छन् ।









