Ad #144479

१८ मंसिर, काठमाडौं । अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म भएको छ । मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो।

उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो। सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रूण अपनाए।

मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रूणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन्। यससँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन्।

भ्रूणदान

पाँच वर्षसम्म सन्तान नभएपछि उनका आमाबुवाले संरक्षित भ्रूण दान लिएर बच्चा पाउन सकिने समाचार पढे। टिना एक प्राथमिक विद्यालयकी शिक्षिका हुन् भने ३६ वर्षीय पति बेन साइबर सुरक्षा विश्लेषक हुन्। उनीहरूले नक्स्भिलस्थित न्याश्नल एम्ब्रियो डोनेशन सेन्टर ‘एनईडीसी’ सँग सम्पर्क गरे।

उक्त केन्द्रले इन भिट्रो फर्टिलाइजेशन पद्धतिबाट विकसित भ्रूणलाई चिसो तापक्रममा सुरक्षित रूपमा भण्डारण गरेर राख्छ। कतिपय प्राकृतिक अभिभावकले त्यस्ता भ्रूणका दान दिनका निम्ति पनि छाडिदिन्छन् जसलाई गिब्सन दम्पतीजस्ता निस्सन्तान व्यक्तिले अपनाउन सक्छन्। उनीहरूले त्यसपछि प्राकृतिक रूपमै त्यस्ता भ्रूण प्रयोग गरी शिशु जन्माउन सक्छन्।

प्रक्रिया

एनईडीसीका अनुसार अहिले अमेरिकाभरि अनुमानित १० लाख त्यस्ता भ्रूण सुरक्षित राखिएका छन्। सत्र वर्षअघि स्थापित एनईडीसीले एक हजारभन्दा धेरै त्यस्ता भ्रूण इच्छुक दम्पतीलाई उपलब्ध गराएको छ। धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने परम्परागत प्रक्रिया जस्तै भ्रूण ग्रहणमा पनि केही प्रक्रिया पूरा गर्नुपर्छ।

इच्छुक दम्पतीलाई कुनै भ्रूणको वास्तविक आमाबुवा को थिए भनेर बताउन पनि सकिन्छ वा नबताउन पनि सकिन्छ। यस्ता सम्पर्कले दातासँग इमेलमार्फत् कुराकानीको सहजीकरण गराउँछ अनि कतिपयले पछिसम्म आफन्तको सम्बन्ध राख्न पनि सक्छन्। दम्पतीहरूलाई २०० देखि ३०० दाताहरूको विवरण दिइन्छ। गिब्सन दम्पतीले लामो समयदेखि शिशु चाहेकाले उनीहरूका निम्ति धेरै विकल्प खुला थिए।

दिदीबहिनी

गिब्सन दम्पतीले रोजेका दुई बालिका मली र एमा आनुवंशिक रूपमै दिदीबहिनी हुन्। दुवै भ्रूणलाई एकैपल्ट सन् १९९२ मा दान गरिएको थियो जतिखेर टिना स्वयं एक वर्षकी थिइन्।

एनईडीसीका अनुसार एमाको जन्म गराइँदा उनको भ्रूण २४ वर्ष पुरानो थियो र त्यो नै कीर्तिमान थियो। तर यो वर्ष मलीको जन्म भएपछि त्यो कीर्तिमान भङ्ग भयो। अचेल एमाले बहिनी मलीलाई निकै माया गर्छिन्।

एनईडीसीका अनुसार यसरी भ्रूणलाई कहिलेसम्म सुरक्षित राख्न सकिन्छ भन्ने कुनै समयसीमा छैन। आईभीएफमार्फत् विकसित भ्रूणबाट पहिलो जन्म सन् १९८४ मा अस्ट्रेलियामा भएको थियो।