Ad #144479

१८ मंसिर, काठमाडौं । सरकारले काठमाडौंमा कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको छ कि छैन भनेर पत्ता लगाउन तत्काल परिणाम दिने एन्टिजेन परीक्षण सुरु गरेको छ । उक्त परीक्षणका आधारमा काठमाडौं समुदायमा संक्रमणको अवस्था पत्ता लाग्ने बताइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा.वासुदेव पाण्डेका अनुसार काठमाडौंमा तीन हजार जनामा यस्तो परीक्षण गरिने बताए । सोमवारदेखि सुरु गरिएको यस्तो परीक्षण काठमाडौंका विभिन्न भागमा भइरहेको छ। तर समुदायमै पुगेर गरिएको भनिएको यस्तो परीक्षणमा सहभागी हुनेहरू कम देखिएको बताइएको छ ।

उनीहरूका भनाइमा यस्तो परीक्षणको प्रतिवेदन कागजी रूपमा नपाइने हुँदा पनि कतिपयको आकर्षण नभएको हो । यद्यपि काठमाडौं महानगरपालिकामा यस्तो परीक्षण भइरहेका वडाका वडाध्यक्षहरूले चाहिँ परीक्षणमा सहभागिता उल्लेख्य रहेको छ ।

१.तत्कालै नतिजा थाहा हुने

यो परीक्षणमा पीसीआर विधिमा जस्तो लामो समय नलाग्ने र तत्कालै परीक्षणको नतिजा तत्कालै आउने छ । यो परीक्षणको पीसीआरमा नतिजा आउन कम्तीमा आठ घण्टा लाग्ने गर्छ। यसबाट चाँडै नतिजा आउने भएकाले सङ्क्रमित पत्ता लगाउन सजिलो हुने र संक्रमितलाई आइसोलेशनमा राख्न सकिने छ ।

२. सहजै र जहाँसुकै परीक्षण गर्न सकिने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा.शेरबहादुर पुनले यो परीक्षण सहजै र जहाँसुकै गर्न सकिने बताएका छन । यस्तो परीक्षणका लागि प्रयोगशालाको आवश्यकता उनले बताए । तर यो परीक्षणमा स्वाबलाई ठाउँको ठाउँ एउटा परीक्षण कीटमा राखेर केही क्षणमै नतिजा थाहा पाउन सकिने छ । महिलाले गर्भवती भएरनभएको परीक्षण गरेजस्तै गरी यसलाई परीक्षण गर्न सकिने उनको भनाइ छ।

३. भाइरस शरीरमा भए र नभएको हेरिने

कतिपयले एन्टिजेन परीक्षणलाई पनि नेपालमा सुरुमा भित्र्याइएको आरडीटी परीक्षण विधिजस्तै ठान्ने गरेका छन्। तर आरडीटी र एन्टिजेनमा निकै फरक रहेको चिकित्सकहरू बचाउँछन्। आरडीटी परीक्षणमा शरीरमा कोरोना भाइरससँग लड्ने एन्टिबडी विकास भएको छ कि छैन भनेर हेर्ने गरिन्छ। एन्डिजेन परीक्षणमा भने भाइरस नै छ कि छैन भनेर हेरिने उनीहरूको भनाइ छ। यो परीक्षणमा शरीरमा भाइरसको तत्त्व छ कि छैन भनेर पनि हेरिन्छ ।

४. प्रभावकारी कति छ ?

यो विधिबाट परीक्षण गर्दा शतप्रतिशत निश्चित हुन भने नसकिने चिकित्सकहरूको भनाइ छ। यो तत्कालै आवश्यक पर्दा मात्र यो परीक्षण उपयुक्त हुने बताइएको छ । यसले सीटी भ्याल ३० भन्दा बढी भएको देखाउँदैन भनिएको छ। यद्यपि यो पनि विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएकै परीक्षण विधि हो।

तर ३० सीटी भ्यालू माथि नदेखाउने भनेको भर्खरै सङ्क्रमण भएको व्यक्तिलाई सङ्क्रमण नभएको देखाउने सम्भावना रहन्छ। सरकारले पनि त्यसै कारणले गर्दा लक्षण देखिएकाहरूको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि पीसीआर गराउनु पर्ने सिफारिस गर्ने गरेको छ ।

५. शल्यक्रिया, समुदायमा सङ्क्रमण हेर्न र नाकामा परीक्षणका लागि उपयुक्त

यो परीक्षण विधि आमपरीक्षणका रूपमा नभई तत्कालको तत्कालै रिपोर्ट चाहिने स्थानमा उपयुक्त हुने छ । जनस्वास्थ्यविद् पाण्डेका अनुसार अस्पतालहरूमा अन्य रोग लागेका र तत्कालै शल्यक्रिया गर्नुपर्नेका हकमा यो उपयुक्त हुने देखिन्छ। त्यस्तै समुदायमा संक्रमण फैलिएको छ कि छैन भनेर हेर्न पनि यसलाई प्रयोग गर्न सकिने छ । विभिन्न नाकाहरूमा मानिसहरूलाई तत्कालै परीक्षण गर्नुपर्ने हुँदा पनि यो उपयुक्त हुने बताइएको छ । बीबीसी