१७ मंसिर, कैलाली। कैलालीमा इन्सपेक्टर गोविन्द विश्वकर्मा र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका छन् ।
प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना जिल्ला अदालत कैलालीमा मङ्गलबार भएको थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
गत कात्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्टका जुगेडामा इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद बेपत्ता भएका थिए। कात्तिक २ गते विकको र दुई दिनपछि साउदको हत्या गरेकै अवस्थामा नेपाल भारत सीमा भएर बग्ने मोहन नदीमा गाडिएको अवस्थामा शव फेला पारेका थियौ ।
प्रहरी हत्यामा संलग्न धनगढी १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, रोजित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीयय चोर भनिने सुरेश रानालाई प्रहरीले पक्राउ गरेको थियो ।
घटनामा संलग्न २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल रानालाई पनि पक्राउ गरेको थियो । पक्राउ परेको सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। प्रहरीको हत्या गराउने राजीव गुप्ता भने धरौटीमा छुटेका छन् ।












