Ad #144479

रमिता दंगाल

झण्डै ८ महिना ढिलोगरी सुरु भएको कक्षा १२ को परीक्षा सकिएको छ । कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको परिक्षा कोरोनाकै महामारीका बिचमा भयो । मंसिर ९ गते मंगलबारदेखि सुरु भएको परीक्षा १६ गते मंगलबार नै सकिएको हो ।

यसपाली परीक्षामा झण्डै ४ लाख ३२ हजार विद्यार्थी सहभागी भएका छन् ।परीक्षा सकेसँगै विद्यार्थीहरु अब नतिजाको पर्खाइमा छन् । तर विगतमा भन्दा फरक तरिकाले परीक्षा दिएका कक्षा १२ का विद्यार्थीहरुको अनुभव कस्तो रह्यो त ?

केहि विद्यार्थीसँग गरिएको कुराकानीको सार :

अनिल नेपाल : सान्त्वना एकेडेमी, आलोक नगर

परीक्षाका लागि तयारी गएको चैतमै गरेको थिएँ । तर बैशाखमा परिक्षा भएन । परिक्षा नभएपनि घरमा बसेरै पढाई निरन्तर थियो । परीक्षा हुनुभन्दा अगाडी डर सबैलाई लाग्छ । तर मलाई तयारीमै रहेकाले होला खासै डर लागेन, अलिअलि मात्रै लाग्यो । बरु कोरोना संक्रमण जोखिमको डर चाहीँ अहिले पनि छ ।

परीक्षा केन्द्रमा जाँदा कलेजको गेटमा हाम्रो ज्वरो छ कि छैन भनेर तापक्रम नाप्ने काम हुन्थ्यो । सेनिटाइजर लगाउन दिनुहुन्थ्यो । मास्क र हातमा पञ्जा अनिवार्य गरिएको थियो । परीक्षा हल भित्र भौतिक दुरी कायम गरिएको थियो ।

आफ्ना विद्यार्थीहरुलाई कोरोना माहामारीबाट बचाउन कलेजले केही पनि कमिकमजोरी गरेको देखिएन । एकदमै महत्वपूर्ण भूमिका खेलेको भन्छु म ।

आफ्नै होम सेन्टरबाटै परीक्षा दिन पाएको भएर होला परीक्षा एकदमै राम्रो भएको छ । पहिला अब अरुको कलेजमा गएर परीक्षा दिँदा त्यहाँको फरक वातावरण, फरक शिक्षक÷शिक्षिका हुनुहुन्थ्यो ।

अहिले आफ्नै कलेजमा परीक्षा दिन पाउँदा ठिकै भएको छ । त्यसै अनुसार नतिजा आउने आशा छ ।

दिपिका कार्की : भी.एस निकेतन, शंखमुल

परीक्षा सुरु नहुँदै के कस्तो हुने हो भनेर अलिकति उकुस मुकुस भएको थियो । तर सकिहाल्यो । परीक्षा सुरु हुँदा त आफ्नै होम सेन्टर भए पनि हल्का डर नै लागिरहेको थियो । विगतका परीक्षा र अहिले पनि उस्तै उस्तै नै हो ।

फरक त हामीले फेस शिल्ड, मास्क, सेनिटाइजर लगाएर स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा दियौँ ।

अनिल पौडेल : टेक्सस कलेज, मित्रपार्क, चाबहिल

परीक्षा सुरु हुनु भन्दा अगाडी डर त लागिहाल्छ । मलाई नि त्यहि नै भयो । तर परिक्षा सोचे जस्तै भयो । जति लेख्छु भनेर परिक्षामा सहभागी भएको थिएँ , त्यसैअनुसार लेखेको छु । होम सेन्टर भए नि परीक्षा त परीक्षा नै हो ।

परीक्षा केन्द्रमा मास्क, पन्जा, सेनिटाइजर लगाएर दिने व्यवस्था गरिएको थियो । परिक्षा राम्रै भएकाले नतिजा पनि राम्रै आउँछ, आशावादी नै छु ।

रमिला नेपाल : सान्त्वना मेमोरियल एकेडेमी

सबै साथिहरु धेरै पछि भेट हुने भएकाले रमाइलो नै लागेको थियो । लामो समय देखिको लकडाउनले गर्दा पढेको त बिर्सिसकेको थियो । त्यसकारण पढेको पनि कस्तो खालको प्रश्न आउने होला भनेर मनमा कौतुहलता थियो । साथै एक किसिमको डर नि लागेको थियो । तर समग्रमा परीक्षा राम्रै भयो ।

परीक्षा पहिले नै भएको भए राम्रै लेखिन्थ्यो होला तर अहिले पढेको पनि बिर्सिसकेकाले अलि चाहेको जति लेख्न नसकेको हो कि जस्तो लागेको छ । पहिला अरु स्कुलमा सेन्टर पर्ने भएकाले अलि समस्या जस्तो हुन्थ्यो । त्यहाँको सर, म्याम, परीक्षाको माहोल फरक नै हुन्थ्यो तर यसपालि अलिक सहज भयो ।

परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड राम्रोसँग अपनाईएको थियो । मास्क, सेनिटाइजर, पन्जा अनिवार्य गरिएको थियो । परीक्षा हलमा पनि १५ जना जति विद्यार्थी राखिएको थियो ।

राम ढुंगाना : दरबार हाई स्कुल (नेपाल संस्कृत एकेडेमी)

सुरुमा त होम सेन्टर नै भए पनि कस्तो प्रश्नहरु आउने हो डर नै भयो । पहिला पहिला अरुको कलेजमा गएर परीक्षा दिनु पथ्र्यो सबै हाम्रो लागि नौलो हुन्थ्यो । त्यति सहज पनि हुँदैनथ्यो । तर अहिले आफ्नै कलेजबाट परीक्षा दिँदा सोचेको भन्दा पनि बढी राम्रो भयो ।

कोरोनाले नै अप्ठारो पारेको हो । परीक्षा पनि लामै समय रोकियो । तर यसपाली परीक्षामा कलेजले एकदमै सुरक्षा अपनाएको थियो । गेटदेखि नै हात धोएर, सेनिटाइजर लगाएर मात्र, भौतिक दुरी कायम गराएर भित्र पस्ने व्यवस्था मिलाइएको थियो ।

परीक्षा हलमा पनि विद्यार्थीहरुलाई दुई÷तीन मिटरको फरकमा राखिएको थियो । मास्क, सकेसम्म फेस शिल्ड पनि अनिवार्य गरेर परीक्षा सकियो । परिक्षा एकदमै राम्रो भएको छ ।

प्रतिमा ढकाल : सान्त्वना मेमोरियल एकेडेमी, आलोक नगर

परीक्षा सुरु हुनुभन्दा अघि खासै डर लागेको थिएन । परीक्षा पनि राम्रै सोचे जस्तै भयो । विगतका बर्षहरुमा दिइने परीक्षा भन्दा यसपाली धेरै नै फरक थियो । त्यसमाथि आफुले पढेको कलेजबाट नै परीक्षा दिन पाइयो । शिक्षकहरु सबै आफुले चिनेको हुनुभएकाले धेरै सहज भयो । त्यस्तो कुनै किसिमको मनमा डर भएन ।

अर्को कुरा पहिला सय पूर्णाङ्कको परीक्षा दिनुपथ्र्यो यसपाली ४० पूर्णाङ्क मात्र थियो । पहिला दिने परिक्षाको तुलनामा प्रश्न पनि सजिलो नै थियो । आफ्नै कलेज भएपनि हाम्रोमा अलिक कडा नै थियो तर बाहिर अरु कलेजको भन्दा चाहिँ सहज नै थियो ।

मास्क, सेनिटाइजर लगाएर परीक्षा दियौँ । ग्लोब्स अनिवार्य गरिएको थियो । परिक्षा सकियो, अब नतिजाको पर्खाइमा बस्ने हो । नतिजा राम्रै आउने आश छ ।