पाँच दिनदेखि बेपत्ता १७ वर्षीय युवकको शव फेला

१५ मंसिर, सुनसरी ।  सुनसरीको दुहबीमा पाँच दिनदेखि बेपत्ता १७ वर्षीय युवकको शव झाडीमा फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा चौधरीको शव भेटिएको छ । घटनामा संलग्न भएको आशंमा प्रहरीले शंकास्पद केही व्यक्तिलाई पक्राउ गरेको छ ।

चौधरी १० मंसिरयता बेपत्ता थिए । कक्षा ११ मा अध्ययनरत चौधरीको अपहरण गरी हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।  सुजन बेपत्ता भएकै दिन आमाको मोबाइलमा अज्ञात व्यक्तिले पैसा माग गर्दै धम्की दिएकाे प्रहरीले बताएकाे छ ।

सोही दिन आफन्तले छोरा हराएको जानकारी इलाका प्रहरी कार्यालयमा दिएका थिए । तर पाँच दिनपछि शव फेला परेको हो । मृतकको परिवारसँग फिरौती माग्नका लागि अपहरण गरिएको हुनसक्ने प्रहरीको आशंका छ ।

शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । घटना शंकास्पद भएकाले प्रहरीले अनुसन्धान सुरु गरेकाे छ ।

[sidebar name="button post"]