११ मंसिर, काठमाडौं । आज र भोलि देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। परिवार कल्याण महाशाखाका अनुसार भिटामिन ‘ए’ सँगै जुकाको औषधि र बालभिटा खुवाउने कार्यक्रम छ।
६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्त्व बालभिटा खुवाउने कार्यक्रम रहेको महाशाखाले जनाएको छ।
२७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउनेछन् भने ६ लाख बालबालिकाले बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि दुई दिनको अवधिमा खुवाइने महाशाखाले जनाएको छ। भिटामिन ‘ए’ कार्यक्रम देशभरका ५२ हजार स्वास्थ्य स्वयंसेविका सक्रियतामा सम्पन्न हुनेछ।
यसैबीच, सरकारले कोराना भाइरसको संक्रमणसँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ए को क्याप्सुल नखुवाउन आग्रह गरेको छ । भिटामिन ए क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा स्याहारकर्तालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए को क्याप्सुल नखुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।
आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम देशभर सञ्चालन हुँदैछ । यसअघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो ।









