९ मंसिर, दमक । झापामा नेकपाका एक नेता पक्राउ परेका छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’लाई पक्राउ गरेको हो । दमक नगरपालिका ६ का नेकपा नेता पुरीमाथि सरकारी जग्गा आफ्नो नाममा कीर्ते गरेर अवैध धन आर्जन गरेको आरोप छ । यो आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई हिराशतमै राखेर अनुसन्धान गर्ने तयारी छ । पुरी नेपाल कम्युनिष्ट पार्टीका प्रदेश १ का सदस्य हुन्। उनी गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेदवार थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट पुरी चुनावमा पराजित भएका थिए। उनलाई प्रचण्डका विश्वासपात्रका रुपमा पनि चिन्ने गरिन्छ ।
दमक नगरपालिका ८ को १० बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा ल्याएर बिक्री वितरण गरेको अभियोगमा पुरीमाथि विभागले अनुसन्धान गरिरहेको थियो। उनले अवैध आर्जन गरेको सम्पत्ति करिब ६ करोडजति फेला परिसकेको छ। बाँकी रहेको सम्पत्तिबारे पनि अनुसन्धान चलिरहेकाले बिगो बढ्ने विभागले जनाएको छ ।
यो अभियोगमा उनी यसअघि अदालतबाट धरौटीमा छुटेका थिए। तीन महिना फरार भएका उनी २०७७ चैत ७ गते जिल्ला अदालतमा सुटुक्क हाजिर हुन पुगेका थिए। झापा दमक नगरपालिका ८ को ३० बिगाहा बढी सरकारी जग्गा पुरीले कीर्ते गरेर आफ्नो नाममा ल्याएको अभियोगमा अदालतले उनलाई एक लाख ८० हजार धरौटीमा रिहा गरेको थियो।









