रमिता दंगाल
सन्त लामाले कोरोना जितेको एक महिना भैसकेको छ । दुर्गा वाइन उद्योगका डाइरेक्टर लामालाई कोरोना कसरी लाग्यो ठ्याक्कै थाहा छैन । व्यवसायी भएका कारणले विभिन्न बैंक र अफिसमा गैरहनुपर्ने भएकाले सरेको हुनसक्ने उहाँ बताउनुहुन्छ ।
कोरोना लागेको कसरी थाहा भयो ?
लामा र उहाँका साथी एकदिन धादिङ्ग पुग्नुभयो । फर्केर आउँदा साथीलाई ज्वरो आयो । तिन दिन जति बेड रेस्ट नै भयो । त्यो भैसकेपछि लामालाई पनि अलिअलि शंका लाग्यो । ‘साथीलाई ज्वरो आउँदा मलाई पनि डर भयो’ उहाँ भन्नुहुन्छ,‘उसलाई एक सय चार डिग्री ज्वरो आयो भनेपछि पक्कै पनि कोरोना लाग्यो र मलाई पनि शंका बढ्यो ।’ साथीलाई सोमबारदेखि कोरोना लाग्यो र त्यसपछि मलाई पनि जीउ दुखेजस्तो अनुभव भयो ।
चारदिन पछि शुक्रबार परिक्षण गर्न गएँ । घाँटी पनि एकदम खसखस गरिरहेको थियो । हेल्पिङ्ग ह्याण्ड हस्पिटल गएर चेक गरेपछि पोजेटिभ आयो । त्यसपछि मलाई एक प्रकारको डर चाहिँ भयो । ‘लौन मलाई त कोरोना लागेछ अब के गर्ने ? कसो गर्ने ? म अब मर्छु कि क्या हो ? अथवा मरिन्छ कि क्या हो, पहिला पहिला युरोप, अमेरिका, चाइना तिर मरेकाहरुको कल्पना हुन थाल्यो । छट्पट्टि भयो ।
अनावश्यक सोंच हटाउँदै गएँ
बेला बेलामा अलिकति मेडिटेसन पनि गर्ने भएका कारण जीवन विज्ञान र डाक्टर योगी बिकासनन्दको पनि चेला हुँ । कोरोना संक्रमणपछि बसेर अनावश्यक धेरै सोंचाई हटाउँदै गए । मेडिटेसन गर्न थाले । फेरी पनि सोंच आउन थाल्यो, अब के गर्ने कसो गर्ने ? मेरो दिनचर्या नै चेन्ज भयो ।
मैले अब कसरी कामलाई निरन्तरता दिने भन्ने सोंच आयो । मिसेसलाई झ्यालैबाट मलाई पोजिटिभ भएको र तिमीहरु पनि मास्क एकदम अनिवार्य प्रयोग गर भने । म पनि मास्क निरन्तर प्रयोग गर्छु । घरमा पनि दुरी कायम गरेर बसे । सबै खानेकुराहरु टाढैबाट लिने र खाने गर्न थाले । नियमित व्यायाम, योगा, ध्यानले मलाई फ्रेस बनायो ।
खानपान
खानपानमा मैले सन्तुलित खाना खाएँ। साथै तातो पानी नै धेरै पिएँ । त्यसपछि बिहान र बेलुका दिनको दुई पटक बाफ लिएँ । गुर्जो पानी कोरोना नहुँदैदेखि खान थालेको थिएँ। कोरोना लाग्दा पनि नियमित रस बिहान बेलुका र दिउँसो गरी तीन टाईम नै खाए । प्रसेर लो हुने डरले नुन मिसाएर खाएँ ।
यसैगरी मेरो दिनचर्या गयो । घरका सदस्यहरुले जसरी केयर गरे त्यो मेरा लागि एकदमै महत्वपूर्ण भयो । अब सेवा हामी गर्छौ, केहि पनि हुँदैन भनेर तातोपानी दिने गरे । साथिभाईहरुले पनि मलाई फोन गरेर सोधिरहनु भयो । आयल निगमका बिरेन्द्रले मलाई दिनमा एक पटक फोन गरेर नआत्तिनुस् नै भन्नुभयो । फेसबुकमा पनि धेरै स्वास्थ्य लाभको कामना गर्नुभयो ।
कोरोना लाग्दैमा मरिंदैन
कोरोना लागिहालेमा पहिला भन्दा अझ धेरै डर लाग्छ । तर आत्तिनु हुँदैन भन्ने मेरो अनुभव छ । कोरोना लाग्दैमा मरिदैन । मैले कोरोना जित्छु भनेर आत्मबल बनाएँ । यसैसँग फाइट गरीरहें। मेडिटेसन र अध्यात्ममा लागेको भएर मेडिटेसन गरेर माइन्डबाट एउटा इन्फर्मेसन दिन्थें । हुन त कत्तिले गर्न सक्नु हुन्छ कतिले गर्न सक्नु हुन्न । मैले चाहिँ के गर्थें भने आँखा चिम्लेर २१ चोटी मेरो शरिरमा कोरोना भन्ने एउटा भाइरस प्रवेश गरेको छ, त्यसलाई नस्ट गरिदिनुहोला भनेर नियमित इन्फर्मेसन दिन्थें ।
कोरोनाले बढाएको भेदभाव
घरपरिवारबाट माया भएपनि कोरोनापछि साथिभाइले भेदभाव गरेको उहाँको अनुभव छ । ‘ए यसलाई कोरोना लाग्या छ भनेर तर्किने, बोल्न नखोज्ने अवस्था छ, उहाँ भन्नुहुन्छ,‘यो हुन नहुँने हो । साथीभाइ मै भेदभाव हुनुहुँदैन, बरु सर्तक र सुरक्षित भैदिए मात्रै पुग्छ ।
भेदभाव गर्न नहुने हो ।’ भेदभावले आत्मबल घट्छ । ग्यारेजमा गाडी पार्क गर्यो, अरु भाग्छन्, चिया खान बस्यो, अरु टाढा हुन्छन्, पहिला पहिला उनीहरु नै निको भैसकेपछि कोरोना केहि हैन भन्थेँ । समाजमा कोरोना भन्ने बित्तिकै भेदभाब चाहिँ बहिरहेको छ त्यो चाहिँ नगरिदिनुहोला । किनभने भोलि तपाईंहरुलाई पनि लाग्ने सम्भावना छ । तपाईंहरुलाई लाग्दा थाहा हुन्छ के कस्तो समस्या हुन्छ भनेर । त्यसकारण पनि भेदभाब नगरिदिनुस् ।
सल्लाह र सुझाव
कोरोना मैले ठुलो रोग मानिन । किनभने मलाई यो भन्दा बढी कडा रुघाखोकी लाग्थ्यो । वर्षमा एक दुई पटक कडा नै रुघाखोकी लाग्छ । पहिला पहिला रुघाखोकी लाग्दा यस्तै हुन्थ्यो । तीन चार दिनसम्म खान मन नलाग्ने, जीउ आलस्य हुने तर अलिकति फरक कोरोना लाग्दा स्मेल र टेस्ट हरायो ।
त्यसैले कोरोना पनि एकप्रकारको रुघाखोकी नै हो तर हेलचेक्राइ चाहिँ नगरेकै राम्रो हुन्छ । सबभन्दा पहिलो कुरा आत्तिनु हुँदैन । दोस्रो रुघाखोकी लाग्दा जे गर्नुहुन्छ, त्यो गर्नुस्, बाफ लिनुस्, व्यायाम गर्नुस् । तातोपानी सहित गुर्जो, तुलसी खानुस्, मन शान्त र सकारात्म राख्नुस् । कोरोना अवश्य जितिन्छ ।












