Ad #144479

समिता श्रेष्ठ

देशका कर्णधार विद्यार्थीको भविष्य जोडिएको शिक्षामा कोरोना महामारीले निक्कै असर पुगेको छ । शिक्षा क्षेत्रमा कोरोनाले पारेको असर तथ्याङ्कमा मापन हुनै सक्दैन । ८ महिना अघि बैशाखमा हुनुपर्ने कक्षा १२ को परिक्षा भोली अर्थात् मंसिर ९ गतेदेखि हुँदैछ । परिक्षा सुरु हुँदै गर्दा विद्यार्थी र अभिभावक भन्छन् :

कल्पना गौतम : अभिभावक

हामी ललितपुरको शैबु भैसिपाटिमा बस्छौ । छोरो सुजनले सेन्ट जेभियर्स स्कुल गोदावरीमा कक्षा १२ मा पढ्छ । अहिले परिक्षा हुने भएपछि परिक्षाको तयारीमा व्यस्त छ । पहिले नै हुनुपर्ने परिक्षा ढिलै भएपनि हुँदैछ । त्यसकारण खुसी लागेको छ । उच्च माध्यमिक तह पढ्ने छोरा सानो होईन ठुलै भैसकेको हुनाले पढ्नुपर्छ भन्ने थाहा नै छ । त्यसकारण अनलाइन क्लासमा पढ पढ भन्नु परेन । आफै बुझ्ने भैसकेको भएर पढाउन गाह्रो भएन तर कहिलेकाहीँ बिजुली नभएर साह्रै समस्या पर्यो । परिक्षामा राम्रो गरोस् भन्ने चाहन्छु ।

सागर थापा मगर : अभिभावक

मेरो बुहारीले कक्षा १२ को परिक्षा दिदैछन् । बुहारी अनिता थापा मगरले निलकण्ठ उच्च माध्यमिक विद्यालय, निलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङमा अध्ययन गरेकी हुन् । कोरोना महामारीले गर्दा बिगत ९ महिनादेखि केही पढेको छैन । त्यसमाथि अनलाइन क्लास लिनको लागि घरमा नेट भएन ।

डाटाले क्लास लिन गाह्रो भयो । फेरि गाउँमा नेट चल्ने मोबाइलको नि समस्या र नेटको पनि समस्या छ । घरमा डाटा किनेर पढ्न सक्ने वातावरण छैन । त्यसैले पनि बुहारीले के कसरी परिक्षा दिने हुन् थाहा छैन । फेरि परिक्षा हुने नहुने अन्यौलकै बिच परिक्षा हुनु लागिरहेको छ । यस्तै हो समस्या त धेरै नै छ । परिक्षा भने राम्रोसँग दिन भन्छु ।

सुनिल कुमार : विद्यार्थी

म जनज्योती माध्यमिक विद्यालय ठाकुर बाबा नगरपालिका वडा नम्बर ६ बर्दियामा अध्ययन गर्छु । अहिले १२ को परिक्षाको अन्तिम तयारी भैरहेको छ । कोरोनाको महामारी बिच परिक्षा हुँदैछ । त्यसकारण अलि डर र नर्भस फिल भै रहेको छ । परिक्षाको लागि तयारी नि राम्रोसँग भएको छैन ।

अनलाइन क्लास पनि तिहारपछि मात्रै सुरु भयो । त्यो पनि अंग्रेजी बिषयको मात्रै भएको छ । अन्य बिषयको त केहि पनि भएको छैन । त्यसमाथी घरमा इन्टरनेटको सुबिधा छैन । मोबाइलमा डाटा किनेर अनलाईन क्लास लिन नि समस्या नै भएको कारण थोरै दिन मात्रै क्लास लिन सके । पढाएको पनि खासै याद छैन र नोटहरु पनि हराइसके तनाबै छ ।

रोजिना बस्नेत : अभिभावक

हामी आलापोटमा बस्छौ । भाई रेशिस बस्नेत न्यू समिट कलेज मैत्रीदेविमा पढ्छ । धेरै समय अलमल नै भयो । परिक्षा कहिले होला भन्ने थियो । तर बिचमा अनलाइनबाट पढाई भएको थियो । अनलाइन क्लास पनि राम्रो भएको जस्तो लाग्छ । घरमा खासै समस्या थिएन, नेट थियो । परिक्षा हुनु राम्रो हो ।

लिला महर्जन:अभिभावक

म शलिन महर्जनको आमा लिला । शलिन बल्खु वन हार्ट कलेजमा पढ्छ । छोराको परिक्षा कस्तो होला भनेर डर लागिरहेको छ । अनलाइनमा त पढेको हो । क्लास भएकै थिए । तर पढ्नुलाई खासै रुचि राख्दैन । पढ्न बस भन्यो ह्या भन्छ । परिक्षामा कस्तो गर्ने हो, उसको पढाईबारे हामी अभिभावकलाई खासै थाहा छैन । घरमै नेट जोडेर पनि पढेको देखिएन । कहिँलेकाहीँ पढेको देखेको थिए ।

सुनिल आचार्य : विद्यार्थी

म मध्यबिन्दु मल्टिपल क्याम्पस कावासोती नवलपुरमा पढ्छु । परिक्षाको तयारी सकियो अब परिक्षा नै दिने हो । यसपाली अलि रिक्स छ । पहिला जस्तो निर्धक्क परिक्षा दिन सक्ने अवस्था छैन । कोरोनाले बोर नै बनाएको छ । क्याम्पस मै गएर पढ्न नपाएपनि घरैमा अनलाइन पढियो । कहिलेकाहीँ नेटको समस्या, कहिले बत्ति गै दिने है क्या नमज्जा भयो । हाम्रो घर तिर बत्ती र नेटको समस्याले अनलाइनबाट पढाई खासै भएन । तर १०० पुर्णाङ्कको नभएर ४० पुर्णाङ्कको मात्रै हुँदैछ । परिक्षा लिने भएपछि १०० कै लिएको भएपनि हुन्थ्यो ।

ज्ञानदास श्रेष्ठ: अभिभावक

छोरो कुष्ण श्रेष्ठ अहिले टाईम्स ईन्टरनेशनल कलेजमा पढ्छ । कोरोना महामारीको कारण लामो समयको अन्तरालपछी कक्षा १२ को परिक्षा हुँदैछ । पढाई नहुँदा खेरी पढ्ने बानी छोराछोरीमा हुँदैन । त्यसकारण धेरै समयदेखि पढाई छुटेको भएर परिक्षा पहिले जस्तो गरि राम्रोसँग दिन अलिक कठिन हुनेछ । त्यसमाथी कोरोना दिनानुदिन बढिरहेको अवस्थामा परिक्षा हुन गइरहेको छ । संक्रमण फैलन सक्ने जोखिम पनि त्यतिकै छ ।

जे भएनी परिक्षा हुने भएपछि दिनु नै पर्ने बाध्यता पनि छ । परिक्षाको तयारी र पढाई केही मात्रामा अनलाइनबाट भयो । घरमै नेट छ । अरु समस्या त भएन, अहिले बिकास निर्माणको काम बाटो बिस्तार हुँदै गरेको भएर कहिलेकाहीँ बत्ती जाने समस्याले छोराको पढाईमा केही अवरोध भयो । अरु त सबै ठिकै छ । अब परिक्षा हुँदैछ, राम्रोसँग परिक्षा देओस्, शुभकामना ।