समिता श्रेष्ठ
झण्डै ८ महिना ढिलोगरी कक्षा १२ का विद्यार्थीले परिक्षा दिदैछन् । कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको परिक्षा कोरोनाकै महामारीका बिचमा हुन लागेको हो । मंगलबारदेखि परिक्षा सुरु हुँदैछ । परिक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।
यसपाली भोली अर्थात् मंसिर ९ गते मंगलबारदेखि सुरु हुन लागेको परिक्षामा झण्डै ४ लाख ३२ हजार विद्यार्थी सहभागी हुँदैछन् । विद्यार्थीले कोरोना महामारीका बिच जोखिम मोलेरै परिक्षा दिन बाध्य छन् । बैशाख महिनामै विद्यार्थीले परिक्षाको तयारी गरेका थिए ।
तर बैशाख ८ गतेदेखि हुनुपर्ने परिक्षा स्थगित भयो । त्यसपछि परिक्षा हुने या नहुने अन्यौलकै बिच मंगलबारदेखि सुरु हुन लागेको हो । परिक्षामा सहभागी हुँदै गरेका विद्यार्थी भन्छन्:
वर्षा दाहाल : इष्टपोल उच्च माध्यमिक विद्यालय
म काठमाण्डौको बौद्ध नयाँ बस्तीमा बस्छु । अहिले कक्षा १२ को परिक्षाका लागि अन्तिम तयारीमा जुट्दैछु । म आफैले अध्ययन गरेको इष्टपोल उच्च माध्यमिक विद्यालयबाटै परिक्षा दिदैछु । तै पनि कोरोना संक्रमणको महामारीका बेला हुन लागेको परिक्षाले धेरै नर्भस बनाएको छ । कस्तो हुने हो परिक्षा यसै भन्न सकिरहेको छैन । पहिलेको जस्तो राम्रो तयारी पनि गरेको छैन । परिक्षा हुँदैछ भनेर तनाव मात्रै भयो ।
चाडपर्व लगत्तै र कोरोना महामारीका बिचमा परिक्षा हुने भएकाले खासै तयारी नै गरेको छैन । अहिले परिक्षा हुँदैछ भनेर खुसी भन्दा पनि डर धेरै नै लागिरहेको छ । परिक्षा पास गर्ने हिसाबले मात्रै परिक्षाको तयारी गरे । मलाई लाग्छ कि परिक्षाले मात्रै हाम्रो मुल्यांकन गर्दैन । परिक्षा मात्रै एउटा मापन होइन । कसैले कोरोना महामारीका बेला अनलाइनबाट अध्ययन गरे । कसैको पहुँच भएन ।
सर्टीफिकेटको लागि मात्रै परिक्षा आवश्यक होइन । तर हाम्रो शिक्षा प्रणाली नै त्यस्तै रहेकाले यो महामारीका बिच पनि परिक्षामा सहभागी हुनुपर्ने बाध्यता छ ।
दिपिका कार्की : भी.एस निकेतन
म भी.एस निकेतन तिनकुनेमा अध्ययन गर्छु । कोरोना महामारी दिनानुदिन बढी रहेको अवस्था बिचमा पनि कक्षा १२ को परिक्षा सुरु हुँदैछ । पहिला त परिक्षा हुने नहुने अन्यौल थियो । विद्यार्थीहरु आफैले नै परिक्षा केन्द्र छनोट गर्नु पाउने भनिएपनि धेरै आफू पढेकै विद्यालयमा परिक्षामा सहभागी हुन्छन् ।
म पनि आफैले पढेको विद्यालयबाट परिक्षा दिदैछु । पहिला परिक्षाको अलमल थियो, तर अब परिक्षा नै सुरु हुन एक दिन बाँकी छ । अहिले भएपनि परिक्षा दिन पाउँदा खुसी छु । कोरोना महामारी झनै फैलिएको यो अवस्थामा संक्रमण हुने पो हो की भनेर डरचाहीँ लागिरहेको छ ।
स्वस्तिका पंगेनी : जनता उच्च माध्यमिक विद्यालय
म जनता उच्च माध्यमिक विद्यालय नवलपरासीमा पढ्छु । यसपाली आफ्नै विद्यालयमा परिक्षा दिदैछु । सरकारले भने अनुसार नै आफुलाई पायक पर्ने परिक्षा केन्द्रमा परिक्षा दिन पाउने भएको कारण आफ्नै विद्यालयबाट परिक्षा दिन लागेको हो । परिक्षा राम्रोसंग दिन र पास गर्ने गरी जोडतोडले लागिरहेको छु । भोलीदेखि त परिक्षा नै हुँदैछ । कोरोनाको महामारीले डर पनि छ । जसरी पनि परिक्षा दिनुपर्नेछ । त्यसैले खुसी नै लागिरहेको छ । अब परिक्षा सकेपछि आनन्द हुन्छ । परिक्षा नहँुदा कहिले परिक्षा हुने हो भन्ने डर भै रहन्थ्यो । अब डर पनि सकिन्छ ।
जस्मिन ओझा : काठमाडौ मोडल कलेज
म काठमाडौंको मोडल कलेज बालकुमारीमा पढ्छु । अहिले कोरोना महामारीको कारण आफूलाई पायक पर्ने ठाउँबाटै परिक्षा दिन पाइन्छ । म आफू अध्ययनरत कलेज काठमाडौं मोडल कलेज बालकुमारीबाटै परिक्षा दिदैछु । कोरोना महामारी बिच परिक्षा हुन लागिरहेको छ । पहिला बैशाखमै परिक्षा हुन्थ्यो भने अहिले कोरोनाको कारण मंसिर आइपुग्यो । पढाइ पनि धेरै नै छुट्यो ।
धेरै कुराहरु बिर्सेको र रिभिजन गर्दा खेरी पनि कति कुराहरु कन्फुज भएको जस्तो भैरहेको छ । कोरोनाले गर्दा धेरै क्लास पनि छुट्यो र रिभिजन अनलाईनबाट गराउँदा नेटको समस्याले खासै पढ्न पाएको छैन । तर पनि स्व अध्ययन गर्दै परिक्षाको तयारी गरेको छु । जे भए नि सबैभन्दा महत्वपूर्ण कुरा परिक्षा हुँदैछ, दिनुपर्नेछ ।
लक्ष्मीराज जोशी : दरबार हाई स्कुल (संस्कृति माध्यमिक बिद्यालय)
म दरबार हाई स्कुल अर्थात् संस्कृति माध्यमिक विद्यालय रानिपोखरीमा अध्ययन गरी परिक्षाको तयारीमा छु । तर खास घर बझाङको खप्तेखाना गाउँपालिका वडा नम्बर १ हो । अहिले काठमाडौ गौरिघाट खरिबोटमा बस्छु । अहिले कोरोना महामारीको कारण आफ्नो इच्छा अनुसार आफुलाई पायक पर्ने स्थानमा परिक्षा दिन पाएको छु ।
कोरोना महामारीको कारण ८/९ महिना परिक्षा रोकिएको थियो । अब परिक्षा हुँदैछ त्यसकारण खुसी नै लागिरहेको छ र खुसीसँगै डर पनि लागिरहेको छ । यो कोरोना भाइरसले सबैलाई डर र त्रास दिएको छ । अझै संक्रमण कति बढ्ने हो थाहा छैन । साथीहरूसँगै बसेर मिलेर स्व अध्ययन गरी परिक्षाको अन्तिम तयारी गरेको छु ।
सम्झना तिमल्सिना : सान्त्वना कलेज
म सम्झना, सान्त्वना कलेज आलोकनगरमा पढ्छु । मेरो घर बाजुरा हो । सरकारले यसपालि कोरोना महामारीको कारण आफ्नो ईच्छा अनुरुप आफुलाई पायक पर्ने परिक्षा केन्द्रबाट परिक्षा दिँदा हुने भन्यो । त्यसकारण आफु नै अध्ययनरत विद्यालयबाट परिक्षा दिने तयारी छ । आफूले अध्ययन गरेको विद्यालयबाट परिक्षा दिदा सजिलो हुन्छ । परिक्षा हुने भएपछी परिक्षा दिनु पर्ने बाध्यता छ ।
कोरोनाको डरले परिक्षा केन्द्रमा गएर भन्दा अनलाईनबाट परिक्षा भएको भए राम्रो हुन्थ्यो भन्ने लागेको थियो । तर भएन । कोरोना र पढाई दुबैको डर छ । कोरोना लाग्छ कि भनेर डराउनुपर्ने अवस्था छ त पढेको पनि सबै बिर्सेर पढाईको पनि डर छ ।












