Ad #144479

समिता श्रेष्ठ

टोलमा जो जो कोरोना संक्रमित भएर ठिक हुनु भएको छ । उहाँलाई एउटा बिजेताको रुपमा नै माला, खाँदा र टिका लगाएर भएपनि सम्मान कार्यक्रम राख्नुपर्छ । हाम्रो टिमले त्यो जमर्को गरेको छ ।

काठमाण्डौ कोरोनाको हटस्पट नै बनेको छ । नेपालका कुल संक्रमितमध्ये आधा भन्दा धेरै त काठमाण्डौ उपत्यका भित्र नै कोरोना संक्रमित छन् । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका पनि संक्रमणबाट मुक्त हुन सकेको छैन । गोकर्णेश्वर नगरपालिका आरुबारी टाढागाउँ टोल सुधार समितिका अध्यक्ष राजेश दाहाल आफू डाक्टर नभएपनि डाक्टरले जस्तै गरी कोरोना संक्रमितको सेवामा खटिनुभएको छ । यसका लागि उहाँले घरभित्रैबाट सुरुवात गर्नुभएको थियो ।

कोरोना संक्रमण परिवारमा भैसकेपछिको अनुभव

दाहाल ग्यास बिक्रेता महासंघ नेपालको कोषाध्यक्ष सहित विभिन्न संघसस्थामा कार्यरत हुनुहुन्छ । मासिक १०० अभियानमा पनि जोडिनुभएको छ । उहाँ कोरोना संक्रमित होइन । तर उहाँले श्रीमतीको उपचार भने खटेरै गर्नुभयो । उहाँ भन्नुहुन्छ,‘मैले एउटा बिरामीलाई डाक्टरले जसरी उपचार गर्नुहुन्छ, त्यसैगरी उपचार गरे । उनको जीवन बचाउनुपर्छ भनेर लागे । आत्मबल बढाउन आफुले सकेको प्रयास गरे ।  श्रीमान् बिरामी हुँदा श्रीमतीले सेवा गर्न हुँने तर श्रीमती बिरामी हुँदा श्रीमान्ले किन सेवा गर्न नहुँने भनेर सुरक्षा सावधानी अपनाएर सेवा गरे ।’

दाहालले के के गर्नुभयो ?

असोज २० गते लक्षण देखिएपछि एक हप्तापछि पीसीआर परिक्षण गर्दा पोजेटिभ आएको थियो । दाहालले कोरोना संक्रमित श्रीमतीको खानेबस्ने अलग्गै व्यवस्थापन गर्नुभयो । कोरोना संक्रमण अरुलाई नदेखियोस् भनेर । त्यस्तै शौचालयलाई पनि त्यसैगरी तारतम्य मिलाउनुभयो । कोठा अलग्यै भहाल्यो । उहाँले मेरो श्रीमतीलाई कोरोना पोजेटिभ देखियो भनेर सामाजिक संजालमा समेत राख्नुभयो । यसको मुख्य उदेश्य संक्रमण देखिएपछि सचेत बन्नुपर्छ र अरुलाई संक्रमण हुनबाट जोगाउनुपर्छ भन्ने रहेको उहाँ बताउनुहुन्छ ।

सामाजिक संजालमा पोष्ट गरेपछिका प्रतिक्रिया

दाहालले परिवारमा कोरोना संक्रमण भएको पोष्ट गरेपछि उहाँका कतिपय साथीहरुले स्वास्थ्य लाभको कामना गर्नुभयो । आफन्त र शुभचिन्तकको सद्भाव शुभेच्छा रह्यो । त्यसैगरी केहि साथीहरुले सामाजिक संजालमा किन पोष्ट गरेको, यस्तो नराख्नुस् हटाउनु भनेको दाहाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ,‘केही साथीहरुले यसरी मान्छेलाई आतंकित गराउनु भएन, त्यो पोष्टलाई डिलिट गर्नु भनेर प्रेसर आयो । ठिकै छ, अरु कुरामा मैले तपाईसँग सल्लाह लिने, लिउँला तर समग्र टोल सुधार समितीको अध्यक्ष भएर मैले  झण्डै २ सय ५० घरको प्रतिनिधित्व गर्ने भएकाले यो लुकाउन आवश्यक छैन भनेर उहाँहरुलाई जवाफ फर्काए ।’ उहाँको श्रीमतीलाई कोरोना पोजेटिभ भएको एक हप्तापछि दाहालले पनि पीसीआर टेस्ट गर्नुभयो । रिपोर्ट भने नेगेटिभ आयो । त्यसको एक हप्तापछि उहाँको छिमेकी लाई कोरोना देखियो ।

अघिल्लो दिनसम्म ब्लड प्रेसर पनि सामान्य थियो अरु सबै कुरा सामान्य मान्छे पोजेटिभ देखिएपछि एकाएक अवस्था गम्भीर भयो । ‘मेरो रिपोर्ट नेगेटिभ आएपनि म घरबाट निस्केको थिइन’ उहाँले भन्नुभयो,‘म आफैं स्वंयम उहाँको घरमा गए । उहाँसँगको सामान्य भलाकुसारीपछि अर्को एकजना दाईलाई ब्लड प्रेसर सबै चेक गर्यौ । पछि उहाँको अवस्था केहि सहज भयो । त्यसपछी अण्डाहरु पकाएर दियौ ।

तुलसी पत्ताहरु दिएपछि उहाँ केहि ठिक हुनुभयो ।’ हामीले उहाँलाई कोरोना निको भएपछि र संक्रमित हुँदा भएको सहयोगबारे सामाजिक सञ्जालमा राख्न आग्रह गर्यौ । तर उहाँले मान्नुभएन । टोलमा अरुलाई पनि कोरोना देखिनेक्रम भने बढ्दै गयो । हामी उहाँहरुलाई सल्लाह, आत्मबल तथा हौसला दिन लागिरह्यौ ।

संक्रमण नलुकाउन आग्रह

कोरोना संक्रमण जो कोहिलाई पनि हुन सक्छ । तर संक्रमण हुँदैमा डराउन र लुकाउन आवश्यक छैन । जो कोहिलाई पनि रोग नलुकाउने वातावरण सिर्जना गर्नु हुँदैन । अनि सकेबरु दैनिक प्रोटिन र आहारका लागि भत्ताको ब्यवस्था गर्नुपर्छ । उहाँ भन्नुहुन्छ,‘म एउटा टोल सुधार समितिको अध्यक्षको हिसाबले के अभियान चलाएको छु भने मेरो टोलमा जो जो संक्रमित भएर ठिक हुनु भएको छ ।

उहाँलाई एउटा बिजेताको रुपमा नै माला, खाँदा र टिका लगाएर भएपनि सम्मान कार्यक्रम राख्नुपर्छ । त्यो अभियान मैले सुरुवात गर्नु लागेको छु ।’ हाम्रो टिम आरुबारी टाढागाउँ टोल सुधार समितिले त्यो जमर्को गरेको छ । यस्ता सकारात्मक कुराहरु लिने र पढ्ने अनि सकारात्मक नै सोंच राख्ने हो भने संक्रमणलाई सहजै जितिन्छ ।

हाम्रो क्षमताले भ्याएसम्म सचेत नागरिकले गर्नुपर्ने कामहरू गर्नुको लागि पूर्ण प्रतिवद्ध छौ । यो अभियानमा जुट्नको लागि पनि स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई आग्रह छ ।’ उहाँ भन्नुहुन्छ,‘कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाउँ ।