७ मंसिर, बुटवल । दाङमा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुष रहेका छन् । उनीहरु दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
घोराहीका पुरुषमा कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । २७ गते अस्पताल भर्ना भएका उनको शनिबार राति ११ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनमा उच्च रक्तचाप र निमोनियाको समस्या थियो ।
यस्तै तुलसीपुरका पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए । ५ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनको आइतबार बिहान १ः४० बजे मृत्यु भएको श्रेष्ठले बताए । उनमा मधुमेह र निमोनियाको समस्या थियो । दाङमा कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या २८ पुगेको छ ।











