Ad #144479

७ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ सहित दुई नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नख्खु क्षेत्रबाट अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग सदस्य सन्जीव नेपाली ‘सुवर्ण’लाई पक्राउ गरेको हो ।

नख्खु क्षेत्रमा व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पुष्टि गरेका छन् । उनले शनिबार विज्ञप्ति जारी गरी आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरिएको भन्दै विनासर्त रिहा गर्न माग गरेका छन् ।

विप्लव समूहका प्रवक्ता प्रकाण्डले पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी गरेका छन् । उनीहरूको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लङ्घन भएको विप्लव समूहको ठहर छ ।