Ad #144479

समिता श्रेष्ठ

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ८ संगम टोलका प्रकाश अधिकारी पेशाले शिक्षक हुनुहुन्छ । उहाँ इष्टपोल माध्यमिक विद्यालयको सह प्राध्यापक तथा संगम टोल सुधार समितिको अध्यक्ष हुनुहुन्छ । साथै मासिक १०० अभियान संस्थाले गठन गरेको कोरोना सहयोग उपसमितिमा पनि हुनुहुन्छ ।

अधिकारी विभिन्न सामाजिक कार्यहरुमा संलग्न हुँदै आउनुभएको छ । ‘सामाजिक कार्यमा खटिएकै बेला कोरोनाले समाएको रहेछ’ उहाँ भन्नुहुन्छ,‘कोरोनाका कारण सुरुसुरुमा एकदमै शरीर दुख्ने र टाउको पनि दुख्ने भयो ।’ यस्तो भएको २÷३ दिन पछिको एक रात त सुत्नै नसकेको उहाँ बताउनुहुन्छ ।

राती एकदमै शरीर भिजेको र तातो थियो । थर्मोमिटर खोजेर शरीरको तापक्रम मापन गर्दा १०३ डिग्री ज्वरो रहेछ । ज्वरो हटाउन सामान्य औषधीको पनि आधा टुक्रा तातोपनीसँग खाएको अधिकारीले बताउनुभयो । बिहान ५ बजे उठ्दा खेरी पनि ज्वरो घटेको थिएन । शरीर ताती नै रहेको थियो । फेरि ज्वरो नाप्दा १०२ रहेछ ।

कोरोनाको बारेमा सुने, पढे अनुसारको लक्षणहरु भएको कारण म छुट्टै कोठामा बसेँ । ‘कोरोना चेक नगरे पनि आफुलाई कोरोना लागेको अनुभव मैले गरिसकेको थिएँ ।’ अधिकारीले भन्नुभयो,‘मैले वडाअध्यक्ष लाई फोन गरेँ । उहाँले म नाम लेखाइ दिन्छु चेक गर्नु जानु भन्नुभयो । त्यसपछि म बसोबास गर्ने ठाउँ गोकर्णेश्वर नगरपालिकाको प्रमुख सल्लाहकार दिपक रिजाललाई फोन गरे । उहाँले पनि सहयोग गर्नुभयो ।

अनि नेपाल मेडिकल कलेजमा स्वाव दिएर आएपछि होम आसोलेसनमा बसेँ। मनमा अनेकौं कुराहरु खेली रहन्थ्यो । एकदिन त मैले डायरीमा लेनदेनको कारोबार समेत टिपेर राखे । त्यो डायरी अझै पनि म सँग सुरक्षित नै छ ।

परिक्षणपछि कोरोना पोजेटिभ नै आयो

स्वाव परिक्षण गरेको ४ दिनपछि मेरो रिपोर्ट पोजेटिभ आयो । गोकर्णेश्वर नगरपालिकाको प्रमुख सल्लाहकारले मलाई फोन गरेर रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो । उहाँले तपाईं नआत्तिनु, जे परे पनि हामी सहयोग गर्न तयार छौ भन्नुभयो । राती १२ बजे सिरियस अवस्था भएपनि उपचार पाउने भएपछि पहिला जुन तनाव थियो त्यो कम भएको अनुभयो ।

श्रीमतीले पनि दुनियाँलाई कोरोना भएकाले आत्तिनु नपर्ने भनेकाले राहत नै भयो । मेरो नजिकको डाक्टर सुरेश दाहाललाई फोन गरेर सोधीखोजी गरेँ । डाक्टर सुरेशले मलाई तीन वटा औषधि खानु भनेर औषधिको नाम दिनुभयो । अलिकति लक्षण बढ्यो भने केही अप्ठ्यारो पर्यो भने पनि भन्नुभयो । त्यस पछि त्यो क्रम चलिरह्रयो ।

फोन र सामाजिक सञ्जालमा सक्रिय

कोरोना संक्रमणका बेला सामाजिक सञ्जालमा बढी सक्रिय भएको अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘हाम्रो मासिक अभियानको अध्यक्ष सन्जय पोखरेल र म सामाजिक सञ्जाल फेसबुकमा जोडिएर अनेकौं कुराहरु गर्यौ । त्यो बेला उहाँ पनि संक्रमित भएको कुरा थाहा भयो ।

अनि हाम्रो कुराहरु सेयर हुन थाल्यो । त्यसपछि अर्को कलाकार श्रीकृष्ण सिंखडा हुनुहुन्थ्यो । उहाँ पनि संक्रमित भएर बस्नु भएको थियो । उहाँहरुसंग मेरो दिनानुदिन टेलिफोनमा कुराकानी हुन थाल्यो । त्यसले गर्दा म संक्रमित हुँदा म सँगसँगै अरु साथीहरु पनि छन् । त्यसैले मैले आत्तिनु पर्दैन भने अनुभव गरे ।

कोरोना संक्रमित भएपछि मैले धेरै कुराहरू लेखेँ लगभग पुस्तक जस्तै डायरी बनाएको छु । यो चाहिँ मलाई कोरोनाले दिएको उपहार जस्तै लाग्छ । त्यही समयमा विद्यालय पढाउँदाका २७ बर्ष अगाडिका साथीहरूले फोन गरे । जो संग २७ बर्ष कुरा भएको थिएर उनीहरुसंग भिडियो च्याट गरे । उनीहरुले तपाईं न आत्तिनु हामी छौँ भनिरहे ।’

फेरी परिक्षण अनि पोजेटिभ

म कोरोना लागेर १८ दिनपछि परिक्षण गर्नु जाँदा फेरि पोजेटिभ आयो । त्यो रात फेरि अचानक झस्कें । १८ दिन भैसक्यो फेरि परिक्षण गर्नु जादा पोजेटिभ आउँछ । अब म कति दिन यो भित्र थुनिएर उकुसमुकुस भएर बस्ने हो भन्ने लाग्यो । त्यसपछि मैले डाक्टर रबिन्द्र पाण्डेलाई म्यासेज गरे ।

उहाँले तपाईंको १४ दिन कटेको छ, तपाईलाई कुनै लक्षणहरु छैन भने तपाईं मजाले हिड्नु सक्नुहुन्छ भन्नुभयो । तर मास्क लगाएर हिड्न सक्ने जानकारी दिनुभयो । त्यसपछि फेरि २३ दिनपछि नेपाल मेडिकल कलेजमा गएर स्वाव दिए र मेरो रिपोर्ट त्यो दिन बेलुका नेगेटिभ आयो । बल्ल मैले संसार जिते झैँ अनुभव भयो ।

कोरोना जितेपछि

कोरोना मात्रै होइन, मैले संसारै जितें । नयाँ जुनी पाएँ । त्यसपछि साथीहरु र आफन्तले सोध्न थाल्नुभयो संक्रमणका बेला के के खानुभयो ? के के गर्नुभयो ? कसरी कोरोना जित्नुभयो भनेर । अनि धेरैले संक्रमण भएको छु भन्न नसकेको अवस्थामा पनि मैले सबैलाई भनेर आवश्यक सल्लाह दिन थालेँ ।

संक्रमण लाग्दैमा डराउनु पर्दैन, तपाईं हामिले आत्मबल बलियो बनाउनुपर्छ, अप्ठ्यारो पर्यो भने हामी पनि छौँ नआत्तिनुस् कोरोनालाई जितिन्छ । यो रोग तपाईं हामी जो सुकै लाई लाग्न सक्छ । त्यसैले नडराउनु आत्मबल बढाउनु आफुलाई सक्षम बनाएर बस्नु पक्का जितिन्छ । धेरै साथीहरूसंग अझै पनि कुरा हुन्छ । कोरोना लागिसकेपछि नआत्तिदा हुन्छ । तातोपानी, कागती, अदुवा बेसार नै खानु उपयुक्त छ ।

अनि दिनको ३÷४ पटक बाफ लिनुपर्छ । अझै पनि कहिलेकाहिँ शरीर गलेको महशुस हुन्छ । मेरो अनुभवले कोरोना केहि होईन भन्न सक्दिन तर कोरोनाले सबैथोक सकिदैन । कोरोनालाई जित्न आत्मबल चाहिन्छ । त्यसको साथै समाजमा अरु कसैलाई संक्रमण भएको अप्ठ्यारो परिस्थितिमा हाम्रो मासिक १०० अभियान छ, यसबाट सहयोग गर्न सधैं तयार छौं ।