Ad #144479

६ मंसिर, काठमाडौं । कक्षा १२ को परीक्षामा सम्मिलित हुन सक्कल प्रवेशपत्र आवश्यक पर्ने राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट गरेको छ । कतिपय विद्यार्थी तथा शिक्षकले फोटो खिचेर म्यासेन्जर, भाइबरबाट पठाएको वा फोटोकपी गरेकोलाई मान्यता दिनुपर्ने माग गरिरहेको सन्दर्भमा बोर्डले सक्कल प्रवेशपत्र नै आवश्यक पर्ने स्पष्ट गरेको हो ।

कोभिड–१९ का कारण विद्यार्थीहरुलाई आफूलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने अवसर दिइएको छ । घर नजिकको पायक पर्ने विद्यालयबाट परीक्षा दिन पाउनका लागि करिव १६ हजार विद्यार्थीले फाराम भरेकोमा १४ हजारमात्र स्वीकृत भएका छन् ।

यसैबीच बोर्डले हिमाली सबै जिल्लाका परीक्षा केन्द्र र पहाडी केही परीक्षा केन्द्रमा प्रश्नपत्र छपाइ गरी पठाएको छ । बाँकी स्थानमा इमेलमार्फत सोही दिन प्रश्नपत्र पठाइनेछ र विद्यालयले आफ्नो सुविधाअनुसार प्रिन्ट गरेर वा कालोपाटीमा सारेर विद्यार्थीलाई प्रश्न उपलब्ध गराउनेछन् । कक्षा १२ को वार्षिक परीक्षा मङ्सिर ९ गतेबाट सुरु हुँदैछ ।