रमिता दंगाल
बत्ति र फूलैफूलको पर्व तिहार नजिकै आइसकेको छ । गाउँ घर, शहर बजार नै झिलिमिली हुने यो पर्वमा मैनबत्तिको माग धेरै हुन्छ । तिहार सुरु हुँदै गर्दा बजारमा मैनबत्तिको माग बढ्न थालेको छ । ललितपुरको भैंसीपाटी बस्ने सलिना गौतमले बिगत दस वर्षदेखि मैनबत्ति कारखाना संचालन गर्दै आउनु भएको छ ।

आफ्नै देशमा बसेर आफैँले केहि न केहि गर्नुपर्छ भनेर आफ्नो सिपको सदुपयोग गरेर उहाँले मैनबत्ति बनाउन थाल्नुभएको हो । पहिला उहाँ महिलाहरुलाई विभिन्न सिप सिकाउने महिला समूहमा आबद्द हुनुहुन्थ्यो । महिला समुहमा रहेर उहाँले मैनबत्ति बनाउन सिक्नुभयो ।
आफैँले केहि गर्नुपर्छ भन्ने धारणा राख्ने गौतमलाई यसै केहि न केहि नगरी बस्न मनले नै मानेन । उहाँले महिला समुहमा आफुले सिकेको सीपलाई सदुपयोग गरेर भैंसेपाटीमा रहेको आफ्नै निवासमा सितास्मा क्यान्डल मैनबत्ति कारखाना सुरुवात गर्नुभयो ।
मैनबत्ति उत्पादन हुने सितास्मा क्यान्डल
सुरुवातको दुई वर्ष त्यतिकै काम सुरु गरे पनि विसं २०६९ सालदेखि भने संस्था दर्ता गरेर व्यवसायिक रुपमा नै संचालन गर्नुभयो । आफ्नै संस्था दर्ता भएपछि उहाँले दुई जना बेरोजगार महिलालाई आफ्नो संस्थामा रोजगारको अवसर दिनुभयो । र काम सुरु गर्नुभयो ।
त्यसपछि उत्पादन भएको मैनबत्ती बजारसम्म पुर्याउन उहाँलाई श्रीमान् सिताराम गौतमले सहयोग गर्नुभयो । त्यतिबेला लोडसेडिङ हुने भएकाले व्यवसाय राम्रै चलेको सलिना बताउनुहुन्छ । ‘सुरुको दुई वर्ष कृषि महिला समूह मार्फत् बिक्रि गरे उहाँ भन्नुहुन्छ,‘ परम्परागत रुपमा प्रयोग हुँदै आएको दियो बत्ति बिस्तारै हराउँदै गएको छ ।

बजारमा पाइने मैनबत्ति, बिजुलि जोड्न मिल्ने पाला बत्तिले नै तिहार झिलिमिली हुन थालेको छ । केहि वर्षयता बजारमै किन्न सकिने मैनबत्ति बल्ने र घर तथा भवन सजाउने गर्न थालिएको छ ।’ मैनबत्ती बनाउन आवश्यक कच्चा पदार्थ मैन, धागो र डिजाईनको मेसिनहरु भने भारतबाट नै आउने गर्छ ।
ठुला होटलमा मैनबत्ति
सितास्मा क्यान्डल उद्योगले द्वारिका होटल, द्वारिका होटलको शाखा केशर क्याफे, होटल भिभान्त र अरु रेस्टुरेन्टहरुमा मैनबत्ति बिक्रि वितरण गर्दै आइरहेको छ । तिहारका बेला मैनबत्ति अझ बढि माग हुने गर्छ । तर अहिले इलेक्ट्रिक अर्थात् बिजुलीबाटै बल्ने झिलिमिली बत्तिको बढी प्रयोग हुन थालेको छ ।
लोडसेडिङ हटेपछि दशैं, तिहार र छठ जस्ता पर्वहरुमा यस्ता बिजुली मैनबत्तिको माग बढेको हो । त्यस्तै अहिले कोरोनाको असर गरेको छ । अहिले कोरोनाले गर्दा एक जना मात्र कर्मचारीको सहयोगमा घरबाटै काम हुँदै आएको छ । गौतमले विभिन्न प्रकारको बास्ना भएको मैनबत्ती बनाउनुहुन्छ ।

दशैँदेखि क्रिसमससम्म मैनबत्तिको एकदमै राम्रो आम्दानी हुने गरेको गौतम बताउनुहुन्छ । तर अहिले कोरोनाको कारण लकडाउन र त्यसपछि पनि सहज रुपमा मैनबत्तिको व्यवसाय संचालन गर्न पाइएको छैन । पहिला जस्तो आम्दानी छैन । कोरोनाले होटल व्यवसाय बन्द भएकाले ५० प्रतिशत घाटा भैरहेको उहाँ बताउनुहुन्छ ।
कोरोना र लकडाउनको असर
सितास्मा क्यान्डलबाट अफ सिजनमा मासिक पचासदेखि साट्ठी हजारसम्म आम्दानी हुने गरेको छ । सुरुमा एक लाख लगानीबाट सुरु गरेको व्यवसायबाट अहिले सिजनमा मासिक एक लाख भन्दा माथि ब्यापार हुने गरेको संस्थापक गौतम बताउनुहुन्छ । तर अहिले कोरोना महामारीको कारणले भने मासिक तिसदेखि चालिस हजार मात्र हुने गरेको उहाँले बताउनुभयो ।
‘सुरु गरेको दिनदेखि अहिलेसम्म आफ्नो व्यवसायप्रति एकदमै सन्तुष्ट छु’ उहाँले भन्नुभयो,‘कोरोनाले गर्दा अहिले भने अलिक कम ब्यापार भैरहेको छ तर निराश भने हुनुपरेको छैन । अरु बेला सहज अवस्था हुँदा चार जनाको परिवार पाल्न कुनै गाह्रो थिएन । उहाँको परिवारमा श्रीमान सिताराम गौतम, दुई छोरी र उहाँ हुनुहुन्छ । ‘बजारमा पछिल्लो समय व्यापारमा समेत बढी नै प्रतिस्पर्धा छ’ उहाँ भन्नुहुन्छ,‘ बजारको लागि माग र ग्राहकको रोजाइ बुझेर उत्पादन गर्नुपर्छ ।’
गौतमले पालिकामार्फत् वडामा आएको बजेटले अरु धेरै महिला दिदीबहिनीहरुलाई पनि मैनबत्ती बनाउने प्रशिक्षण दिदै आउनुभएको छ ।












