Ad #144479

कास्कीको पोखरास्थित गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा तीन र गण्डकी मेडिकल कलेजमा एकजना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन र बागलुङको जैमिनी नगरपालिकाका एकजना छन् । पोखरा महानगरपालिका–१७ का ७५ वर्षीय पुरूषको उपचारको क्रममा शुक्रबार बिहान ९ बजे पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । वृद्धमा १४ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार राति १२ः१५ बजे पोखरा महानगरपालिकाकै एक महिने ‘३० दिने’ शिशुको मृत्यु भएको छ । संक्रमित शिशुमा श्वासप्रश्वास तथा निमोनियाको समस्या थियो ।

यसैगरी पोखरा महानगरपालिका–१० का ५७ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै बुधबार राति ११ः३० बजे उपचारको क्रममा मृत्यु भएको हो । उनीमा २ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीमा निमोनिया र हाइपरटेन्सन सम्बन्धी समस्या थियो ।

यसै गरी बागलुङको जैमिनी नगरपालिका–९ का कोरोना संक्रमित पुरूषको पनि उपचारको क्रममा प्रतिष्ठानमै बुधबार राति ८ः५० बजे मृत्यु भएको उनले बताए । कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएका उनीमा निमोनियासम्बन्धी समस्या पनि थियो ।