अब देशभर चिसो बढ्दै जाने भएकाे छ । माैसम महाशाखाका अनुसार अब बिहानपख हुस्सु लाग्ने क्रम पनि बढ्दै जाने छ । काठमाडाैंमा हिजो बिहान बादल लागेकोमा आज भने केही खुलेको छ ।
बादल लाग्दा अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढ्ने भएकाले तुलनात्मक रुपमा केही न्यानो हुन्छ । तर बादल नलाग्दा न्यूनतम तापक्रम घट्ने माैसमी बुलेटिनमा उल्लेख गरिएकाे छ, जसले गर्दा चिसो बढी महशुस हुन्छ ।
अहिले न्यूनतम तापक्रम घटेर चिसो भएको छ, पानी पर्यो भने जाडो अझै बढ्नेछ । तर तत्काल पानी पार्ने कुनै प्रणाली नभएकाले देशको पहाडी भेगमा हल्का बाहेक पानी पर्ने सम्भावना छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिजो अस्तिको तुलनामा घाम कम तथा बादल बढी लाग्ने सम्भावना छ । आज यो वर्ष जाडो सुरु भएपछि अहिलेसम्मकै कम तापक्रम मापन गरिएको छ । आज काठमाडाैंको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।












