धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका दुई जना र मोरङका एकजनाको बिहीबार बिहान मृत्यु भएको हो ।
सप्तरीको राजविराज-१ की २३ वर्षीया युवतीको बिहीबार बिहान ३ः१५ बजे र सप्तरीकै राजविराज-८ का ६५ वर्षीय पुरूषको बिहान ८ बजे मृत्यु भएको हो ।
२३ वर्षीया युवतीमा कार्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका बिरामी पनि थिइन् ।
६५ वर्षीय पुरूषमा भने कार्तिक १५ गते संक्रमण पुष्टि भएको र सोही दिन उनी अस्पताल भर्ना भएका थिए । कार्तिक ९ गते अस्पतालमा भर्ना भएका मोरङका ५९ वर्षीय पुरूषमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो । उनी हाइपरटेन्सन र मुटुका रोगी थिए ।











