अब ललितपुरका मुख्य चोक चाेकमा नगर प्रहरीको नियमित ड्युटी गर्ने भएको छ । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलले ट्राफिकसँग मिलेर सवारी व्यवस्थापन, चोक आसपासको सडकको अवस्थाको रेखदेख, फुटपाथ नियन्त्रण, पार्किङको व्यवस्थापन लगायतका काम गर्ने भएकाे हाे ।
बिहीबारबाट ६ वटा चोकमा नगर प्रहरीको नियमित ड्युटी लगाउन थालिएको हो । मेयर चिरीबाबु महर्जनको योजना र निर्देशन अनुरुप नगर प्रहरी बलले कुपण्डोल क्षेत्र, हरिहरभवन चोक, पुल्चोक, जाउलाखेल, लगनखेल, मंगलबजारमा नगर प्रहरीले नियमित ड्युटी सुरु गरेको छ ।
नगर प्रहरी बल प्रमुख सीताराम हाछेथुका अनुसार नगर प्ररहीले नै विदेशमा ट्राफिक व्यवस्थापन गर्ने गरेको स्मरण गराउँदै अब नियमित रुपमा चोकमा खटिएर ललितपुर नगरप्रहरी बलले ट्राफिकसँगै काम गर्ने छ । यस्तै ललितपुरले सडकमा बनाएको साइकल लेनलाई प्रभावकारी बनाउन र जथाभावी हुने पार्किङको निगरानी र नियन्त्रण गर्न पनि अब ललितपुरको नगर प्ररही बल आफैंले काम गर्ने भएको छ । ललितपुरमा अहिले ७२ जना नगर प्रहरी छन् ।












