जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’हरु धान खेतमा फालिएको अवस्थामा भेटिएकाे छ । यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाहरूले फेला पारेका हुन् ।
धान खेतमा फेला परेको ३ सय थान जति लाइसेन्सहरु संकलन गरेर उनीहरूले यातायात कार्यालयलाई नै दिएका छन् । यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न उठेको छ ।
कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्ने बताउँदै यातायात कार्यालयले जनाएकाे छ । तेसाे त यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ । दलाल र बिचौलियाहरु लाइसेन्ससहितका कागजात बोकेर आफूखुसी ओहोरदोहोर गर्दै आए पनि यातायात कार्यालयका कर्मचारीहरु मुकदर्शक बन्ने गरेको सेवाग्राहीहरूले बताउँछन् ।











