Ad #144479

बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीका सामान ल्याएका स्थानीयहरुसँग झडप हुँदा तीन प्रहरी र एक बालकसहित चार जना घाइते भएका छन् ।

प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । यस्तै प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैयामै उपचार भइरहेको छ ।

झडपमा प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते भएकाे प्रहरीले जनाएकाे छ ।स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्याज ओसारेका थिए । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा लुकिछिपी प्याज ओसार्ने र बिक्री गर्ने क्रम चलिरहेको थियो ।

बुधबार राति प्याज ल्याएर आएकाहरुलाई सीमा क्षेत्र नजिकै रहेको नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएपछि थप स्थानीयसमेत आएर प्रहरीहरुमाथि आक्रमण गरी प्याज लगेर गएका छन ।  प्रहरीले स्थिति नियन्त्रणका लागि १२ राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका बालकको अवस्था गम्भीर छ । उनको टाउकोमा गोली लागेको छ ।