कात्तिक ३, गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।
कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो ।गृहले चाडबाडको बेलामा मानिसको आवत जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ ।चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइसकिएको पनि गृहले जनाएको छ ।
चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी लगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन गर्न नदिइ भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन, सबै प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्न, बजारमा आम नागरिकको अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको सहज आपूर्ति व्यवस्था मिलाउन, कालो वजारी, कृतिम अभाव, मिसावट, गुणस्तरहीन सामानको विक्री वितरण हुन/गर्न नदिनका लागि नियमित बजार अनुगमन गर्न तथा कानून विपरितका गतिविधिमा संलग्न हुनेहरूलाई तत्काल कानून बमोजिम कारबाही गर्न मातहत सुरक्षा निकाय तथा सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ ।
मन्त्रालयबाट दिइएको निर्देशन कार्यान्वयनको लागि २४ सै घण्टा निरन्तर समन्वय तथा अनुगमन हुने व्यवस्था मिलाइएको पनि जनाएको छ । विज्ञप्ति सहित













