जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अत्यावश्यक बाहेकका सेवा बन्द

असाेज २७, जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को सूचना नआएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको हो ।

सूचनामा भनिएको छ, “संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको साथै सेवाग्राहीको भिडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हाल प्रवाह भइरहेका सेवाहरु तपशिल बमोजिम हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।”

कार्यालयले शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवामात्रै सञ्चालनमा आउने जानकारी दिएको छ । बाँकी सेवा भने तत्कालका लागि स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।

स्थगित भएका सेवाहरुमा नागरिकता वितरण, हातहतियार दर्ता र नविकरण, संस्था, पत्रपत्रिका दर्ता र नविकरण लगायत रहेका छन् ।

[sidebar name="button post"]