३९ वर्षका ज्ञानकुमार : बाँसुरी, धिमे, हार्मोनियम र तबला बजाउन खप्पिस

समिता श्रेष्ठ

ज्ञानकुमारको एउटा अनुभव छ, धिमे बाजा किन्न सहयोग संकलन गर्दा लुटेरा आरोप लाग्यो । आफ्नो संस्कृति बचाउनको लागि दिनरात लाग्दा आरोप खानुपर्यो तर मन मरेन । उहाँ अहिलेपनि बाजागाजामै व्यस्त हुनुहुन्छ । ज्ञानकुमार श्रेष्ठ उमेरले ३९ पुग्नुभयो ।

बुवा ज्ञानबहादुर र आमा पूर्णमाया श्रेष्ठको कोखबाट २०३८ साल पुषमा काठमाण्डौको गोकर्ण किसिगालमा जन्मनुभएको हो । बुवाको निधन भैसकेको छ । अहिले परिवारमा आमा, श्रीमती, छोरी र छोरा हुनुहुन्छ । उहाँ कान्ती भैरवनाथ धिमे खलको संस्थापक अध्यक्ष तथा गोकर्णेश्वर बाँसुरी खलका सचिव एवं कान्ती भैरवनाथ सिन्दुर जात्रा गुठीका सचिव हुनुहुन्छ ।

धुन र सुर सुनेरै सिक्नुभयो

ज्ञानकुमार पुरानो बाँसुरी बजाउनु हुन्छ । धिमे, हार्मोनियम र तबला पनि बजाउने गर्नुहुन्छ । उहाँले १६ वर्षकै उमेरदेखि बाजाहरु बजाउन सुरु गर्नुभएको हो । बाजागाजामा २०/२१ वर्षदेखि खटेर काम गर्दै आउनु भएको छ । स्थानीय जात्रा पर्वमा अरुले बाजा बजाएको हेर्दाहेदै, उनीहरुसँग हिड्दाहिँड्दै, धुन र सुर सुनेरै उहाँले सिक्नुभएको हो ।

ज्ञानकुमार भन्नुहुन्छ,‘चाडपर्व, जात्रामा अरुले बजाएको हेर्ने, सुन्ने र औंलाको चाल नियालेर आफैले प्रयास गरी गरी सिकेको हुँ । धिमेबाजा गुरु लेखरथन शाक्यले सिकाउनुभयो ।’ २०६३ सालदेखि सुरु गरेर २०६५ सालमा विधिवत् रुपमा गोकर्णेश्वर कान्ती भैरव धिमे खल स्थापना गरेर सिकेको उहाँ बताउनुहुन्छ । ज्ञानकुमारका हजुरबुबाहरुले बाजा बजाउनु हुन्थ्यो । बहिनीले पनि धिमे बजाउनुभयो । अहिले भन्ने उहाँ एक्लै हो ।

कहिले कहिले बज्छन् बाजा

धिमे बाजा कुनै पनि नेवारी पर्व संस्कृति तथा परम्परामा बजाउने गरिन्छ । पुरानो बाँसुरी प्रत्येक वर्षको बुवाको मुख हेर्ने दिनको भोलि पल्टदेखि घटस्थापनाको दिनसम्म बिहान बिहान बजाउने गरिन्छ । यसलाई यह्ला पर्व भनिन्छ । यसपाली भन्ने मलमासले गर्दा २ महिनासम्म बजाउनु पर्ने भएको छ । बाँसुरी नागपंचमीदेखि लाखय् नाचसम्म बजाइन्छ ।

लाखय् नाच्यो भने भुतप्रेतले पिरोलिरहेको घरमा लाखय् नचाएर घर भित्र्याएर ढोगाउने र दान दक्षिणा दिएमा रोग ब्याथ निको हुने विश्वास छ । यो बाँसुरी बजाउने नागपंचमी देखि सुरु भएर कागेअष्ट्मी कागेश्वरीथानमा मेला लाग्छ, त्यो दिनसम्म अन्तिम हुन्छ भन्ने कुनै कुनै ठाउँमा ईन्द्र जात्राको दिनमा बिधिवत् रुपमा पुजाआजा गरेर लाखय् भित्र्याएर विर्सजन हुन्छ । हार्मोनियम र तवला भजन, पर्वमा बजाउने गरिन्छ ।

हजुरबुवा र बुवाको प्रेरणा

बाजा बजाउदा संस्कृति सम्पदा बचाउनु पर्छ भनेर बाजा बजाउन प्रोत्साहन गर्ने गरेको ज्ञानकुमार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,घरमा परिवार र आफन्तले संस्कृती बचाउनुपर्छ आफ्नो कला,संस्कृति सिक्नुपर्छ भन्ने गर्नुहुन्थ्यो ।’

पहिला र अहिले बाजागाजा बजाउन सिकाउने शैलि फेरीएको उहाँको गुनासो छ । साथै कला, संस्कृतिलाई जोगाउनुपर्नेमा ज्ञानकुमारको जोड छ । कला संस्कृतिको मर्मबारे उहाँ सार संक्षेपमा यसरी भन्नुहुन्छ ।

हिजोको दिनमा आफ्नो बाउबाजे सँगसँगै हिँडेर सिकियो सिकाईयो । सुर सुनेर, लय सुनेर, औंला चलाउने के कसरी भन्नेर सिकाइन्थ्यो । पहिलेको र अहिलेको बाजा बजाउन सिकाउने शैलिमा धैरै नै फरक छ । अहिले सारेगमबाट सिकाउने गरिन्छ । आधुनिक शैली आएको छ ।

हाम्रो नेवारी संस्कृतिमा चै बाजा बजाउन सिक्दा भगवानको रुपमा नासादेवको स्थापना गर्नुपर्दछ । सिक्ने बिद्यार्थीहरुले त्यो कोठाभित्र मात्रै बजाउन पाउँछन् । बाहिर बजाउन पाउदैनन् । बिधिवत् रुपमा पुजाआजा गरेपछि बाहिर बजाउन सक्छौ भनेपछि मात्रै बाहिर बजाउन सक्छन् ।

संस्कृति धरोहर भएकाले जोगाउनुपर्छ

आजको दिनमा हाम्रो देशलाई संस्कृतिको धरोहर भनेर चिनाउनको लागि हरेक समुदायले आफ्नो संस्कृति सिक्नु सिकाउनु अति नै आवश्यक छ । अभिभावकले पनि त्यसको लागि प्रोत्साहन गर्नुपर्ने देखिन्छ । किनभने अहिलेका युवा वर्ग मोबाइल भित्रमा मात्रै रम्ने आफ्नो संस्कृति बाजागाजा बजाउन त्यति रुचि नराख्ने देखिन्छ । त्यसैले आजको युवाले बाजा बजाउनु सिक्नु र सिकाउनु अति नै जरुरी छ ।

बाजा बजाउन उत्प्रेरित गर्नु प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । हाम्रो संस्कृति, परम्पराको महत्त्व बुझाउनुपर्छ । मेरो तर्फबाट मैले र मेरो साथीहरू मिलेर कान्ती भैरव धिमे खल को स्थापना गरेको छु । म बाजा बजाउन सिक्न चाहनेलाई गाईड लाईन दिने गर्छु । म र मेरो साथीहरूको पहलमा धिमे र बाजागाजाको सामग्री सहयोग संकलन गरेर किन्यौ । डेढ दुई सय जना भाईबहिनीलाई धिमे सिकायौ ।

रमाइला र नरमाइला पल

रमाईलो पल कान्ती भैरव धिमे खलबाट २०६५ सालमा स्थानीय जात्रामा बाजा बजाउँदा सबैले राम्रो रहेछ भनेर म संस्थापक अध्यक्ष भएको कारण कल गरेर हाम्रो बच्चाहरुलाई सिकाउन चाहन्छौ भन्दा खुसी लाग्यो । अप्ठ्यारो पनि धिमे खल स्थापना गर्दा हामी बेरोजगार भएका कारण धिमे लगायत बाजागाजा किन्न सहयोग संकलन गरेका थियौ ।

धिमे एउटाकै १०/१२ हजार लाग्थ्यो । यसरी सहयोग संकलन गर्दा लुटेरा भन्ने आरोप पनि लागेको थियो । आफ्नो संस्कृति बचाउनको लागि दिनरात लाग्दा यस्तो आरोप लाग्दा चै नराम्रो लागेको थियो ।

[sidebar name="button post"]