यो जीवन संघर्ष नेपाल प्रहरीमा जागिर खाएर अवकास प्राप्त रामकुमार बस्नेतको हो । जसले जागिर खाएपछि बल्ल पढाइको महत्व बुझ्नुभयो । बस्नेतको जीवन नै एउटा फिल्म हो भन्दा पनि फरक पर्दैन ।
वि.स २०२८ साल फाल्गुन ९ गते सिन्धुपाल्चोकको थाङपालधाप गाँउपालिका वडा नम्बर ३ मा जन्मिएका रामकुमार बस्नेतको बाल्यकाल दुखै दुखमा बित्यो । सामान्य परिवारमा जन्मिएका उहाँले जुत्ता चप्पल समेत देख्न पाउनुभएन । चिसो ठाउँ त्यसमा पनि हिउँको जाडो र तुषाराहरुमा खाली खुट्टा हिँड्दा खुट्टाहरु छियाँ छियाँ हुन्थे ।
पारिवारीक अवस्था
रामकुमार बस्नेतका बुबा त्यस बेला गाउँमा अरु भन्दा शिक्षित हुनुहुन्थ्यो । गाउँमा बैदार र प्रधानपञ्च चलाएर बसेपनि आर्थिक अवस्था भने कमजोर थियो । घरमा ४ जना दाजुभाई, ३ जना दिदीबहिनी र बाबु आमा गरेर ९ जनाको परिवार थियो, त्यो परिवार धान्नका लागि घरमा निकै कठिन पथ्र्याे । दिनरात काम गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने अवस्था थियो । बुवाको निधनपछि राम कुमारले धेरै नै संर्घष गर्नुपर्याे ।
शिक्षा
दाईहरु आर्मीमा जागिरे हुनुभयो । बुवाको निधन भयो । त्यसपछि घरको जिम्मेवारी सम्हाल्नुपर्ने भएपछि पढाइलेखाइ हुन सकेन । स्कुल नगएको भने होइन । घर भन्दा माथि रहेको रैथाने प्राथमिक विद्यालयमा ५ कक्षा सम्म पढेर थाङपालधाप निम्न माध्यामिक विद्यालयमा ७ मा पढ्दा पढदै पढाई रोकियो । त्यो बेला पढाई कसैको पनि चाख र प्राथमिकतामा थिएन । पढ्नु पर्छ भनेर पनि कसैले ज्ञान दिएनन् ।
दिनभरी गाई वस्तु हेर्ने, दाउराघासँ काट्ने र मेलापात गर्दा नै समय बिते । काठमाण्डौको साँखुदेखि नुन बोक्नुपथ्र्यो । बस्नेत सम्झनुहुन्छ,‘घरबाट पिठो, चामल र ताप्के बोकेर बिच बाटोमा खाना पकाएर खाने र बास बस्नुपथ्र्यो ।’ तर सँगैका साथीहरु भने पढ्दै अगाडी बढे ।
जागीर खाने सोंच
१८ वर्षसम्मको युवा उमेर घासँदाउरा गर्दागर्दै बित्यो । त्यसपछि अब केहि गर्नुपर्छ नत्र यसरी नै बस्यो भने एउटा पाईन्ट फेर्ने हैसियत पनि हुँदैन भन्ने सोंच उहाँमा आयो । र गाउँमा छरछिमेकी दाजुभाई चटक्क परेर, झोला बोकेर आउँदा उहाँलाई पनि त्यस्तै बन्न मन लाग्यो ।
त्यस समयमा आर्मी÷पुलिस प्रतिष्ठाको जागीर थियो । एसएलसी र १२ कक्षा अनिवार्य हुनुपर्छ भन्ने पनि थिएन जसले गर्दा जागिर खान सजिलो थियो । अनि बस्नेतले पनि आर्मी वा पुलिसमा जागिर खाने साेंच बनाउनुभयो ।
परिवारमा सहयोग
उ बेलामा दाईहरु छुट्टाभिन्न भइसके । तर आमालाई हेर्ने कोही नहुँदा बस्नेतले घर छोड्न सक्नुभएन । २०४५ साल माग २० गते बस्नेतले बिहे गर्नुभयो । श्रीमतीलाई घरपरिवार जिम्मा लगाएर उहाँ निस्कनुभयो जागीरको यात्रामा । २०४६ साल बैशाख १ गते सबै प्रकृयाहरु पुरा गरेर नेपाल प्रहरीमा नियुक्त्त हुनुभयो । उहाँ भन्नुहुन्छ,‘ श्रीमतीबाट आँट, सहयोग र हौसला नपाएको भए सायद म नेपाल प्रहरी बन्न सक्ने थिएन होला ।’
सन्तान जन्माउने बेलाको पिडा
बस्नेत जागीरे । श्रीमती गर्भवती हुनुभयो । सन्तानका लागि हुने खुसी त थियो नै तर श्रीमतीको रेखदेख गर्ने बेलामा पनि देश र नागरिकको रक्षामा लाग्नुपर्ने अवस्था र बाध्यता थियो । त्यसबेला अहिलेजस्तो मोबाइल थिएन । घरमा के भएको छ केहि थाहा हुँदैनथ्यो । कहिलेकाहीँ चिठीपत्र हुन्थ्यो त्यो पनि धेरै समय पछि ।
वि.स २०४७ साल चैत्र २४ गते जेठो छोरा जन्मिए । त्यस बेला बस्नेत काभे्रमा हुनुहुन्थ्यो, श्रीमतीलाई ३ दिन देखि गाह्रो भएको थियो । तर घरमै सुरक्षित बच्चा जन्मियो । फेरि केहि वर्षपछि अर्काे छोरा जन्मिए । छोराहरुलाई हुर्काउनुभयो, बढाउनुभयो, पढाउनुभयो तर पढ्दापढ्दै जेठो छोरो विदेशीए त्यसको केहि वर्षपछि कान्छो छोरो पनि दाई भएकै ठाउँमा गए अहिले छोराहरुको कमाई राम्रै छ ।
नेपाल प्रहरीमा रहदाँको अनुभव
बस्नेतले पढाइको महत्व जागीर खाएपछि बुझ्नुभयो । अहिलेको जस्तो इन्टरनेट, सामाजिक सञ्जालहरु त्यति खेर थिएन । जसले गर्दा बस्नेतमा बाहिरी ज्ञान केही पनि थिएन । गाउँमा भिर पाखामा हिँडेर घासँदाउरा गरेर बसेका उहाँ जागीरमा लागेपछि शिक्षित साथीहरुसँग प्रतिस्पर्धा गर्न निकै कठिन पर्याे ।
जागिर खाईसकेपछि तालिम गर्दाको पिडा अहिले पनि झल्झली सम्झिनु हुन्छ । त्यस समयमा सरकारबाट पनि धेरै सेवा सुविधा नपाउने हुँनाले एकदमै गाह्रो हुने गथ्र्याे । त्यसबेला झण्डै ७ सय जति तालिम लिने व्यतिmहरु सानो ठाउँमा सगैँ बस्नुपर्ने हुन्थ्यो । अहिलेको जस्तो खाना लत्ताकपडा पर्याप्त हुँदैन थियो । ‘काँचो ईट्रटालाई पाकेको बनाउनु पर्ने कठिन त भइहाल्थ्यो नै’ अहिलेको जस्तो पर्याप्त सेवा सुविधा केहि पनि थिएन ।
पहिलो तलब थाप्दाको अनुभव
‘आफैले जागीर खाएर तलब थाप्दा छुट्टै किसिमको आनन्द हुँदो रहेछ’ उहाँ भन्नुहुन्छ,‘त्यस समयमा जम्मा तलब ५ सय चौसठ्रठी रुपैयाँ थियो, चौसठ्रठी रुपैयाँ सञ्चयकोष भनेर काटिन्थ्यो र ५ सय रुपैयाँ हातमा आउँथ्यो ।’ जागिर खाएपछि आएको पहिलो दशैमा १ हजार रुपैयाँ लिदा बस्नेतलाई संसार जितेको अनुभव भयो । दशैमा १ हजार रुपैयाँ तलब पाएपछि असनमा गएर ५ सयको घरायसी सामान किनेर ५ सय आउन जानलाई बाटो खर्च छुटट्याएको उहाँ सम्झनुहुन्छ ।
पढाइले गर्दा प्रमोशन हुन रोक्यो
पढ्नुपर्छ भन्ने ज्ञान कसैबाट नपाएका बस्नेतले जागिर खादा पढाइकै कारण पछि पर्नुपर्याे । सगैँ जागिर खान आएका साथीहरु एसएलसी पास थिए । जसले गर्दा उनीहरुको प्रमोशन भैहाल्थ्यो, साथीहरु असई हुँदा बस्नेत हवल्दार र साथीहरु सई हुदा उहाँ असई हुनुभयो । काम साथीहरुको भन्दा राम्रो गरेपनि शिक्षा नहुँदा जहिले पनि साथीहरु भन्दा कम हुनुपर्यो । जागीरभरी बस्नेतलाई पढाइको पछुतो रह्यो ।
२०५२ सालदेखि सुरु भएको द्धन्द कालको अनुभव
रामकुमार बस्नेतले जागिर खाएको ६ वर्षपछि द्धन्द काल सुरु भयो । द्धन्द कालमा कति खेर भिडन्त हुन्थ्यो, केही थाहा हुँदैनथ्यो । रातभरी जङगलमा बस्नुपथ्र्याे । लामखुट्टेले टोक्थ्यो, जङगली जनावरको डर हुन्थ्यो, तर बस्नेत त्यस बेला ठुलो भिडन्तहरु कुनैमा पनि पर्नुपरेन । उहाँ भन्नुहुन्छ,‘भगवानले मलाई धेरै हेर्नुभएको छ ।’
दशै तिहारमा बिदा नपाउँदा
जागीर खाएपछि जम्मा ६ पटक मात्र दशै तिहारमा घर जाने अवसर मिल्यो । अरुको निधारमा रातो टिका लगाएको देख्दा उहाँको मन साह्रै रुन्थ्यो । घरमा पनि श्रीमती, छोराहरु र बुढि आमा आफ्नो पर्खाइमा बसेका होलान् भनेर आँखाबाट आँसु थामिदैनथ्यो । आफु जान पाएको भए २ दिन भए पनि परिवारसँग रमाउन पाइन्थ्यो, साथीहरुसँग भेट हुन्थ्यो भनेर ति आँखाहरु रसाइरहन्थे ।
नेपाल प्रहरीबाट रिटायर भएपछि…
देश र जनताको लागि काम गर्दै जाँदा २०६२ साल साउन ९ गते नेपाल प्रहरीको बर्दि खोलेका उहाँले गाउँमा आएर समाज सेवा गर्न थाल्नुभयो । सानोमा सानो भईयो ठुलो भएपछि जागीर तिर लागियो । आफ्नो जन्मेको ठाउँमा केहि गर्नुपर्छ भन्ने सोँच थियो, सामाजिक क्षेत्र तिर लाग्नुभयो । यसरी काम गर्दै जाने क्रममा राजनीति गर्ने इच्छासक्त्ति पनि सँगसँगै बढ्यो र आफु जनपथ प्रहरी भएकोले राजनीतिक दलहरुसँग राम्रो घुलमिल थियो ।
चुनावमा उमेद्वार : कृषि कर्म
केहि वर्ष सामाजिक र राजनीतिक क्षेत्रमा लागेर गाउँ टोलमा भिजेपछि उहाँ चुनावमा उठ्नुभयो । तत्कालिन नेकपा एमालेबाट गाउँपालिकाको वडा ४ मा प्रतिस्पर्धी हुनुभयो । प्रतिस्पर्धामा हारेपनि हौसला मिलेको उहाँ बताउनुहुन्छ । राजनीति छदैछ, गाउँमा बसेर कृषिमा केहि गर्नुपर्छ भन्ने सोंचले फर्म खोलेरै काम गर्न थाल्नुभएको छ । उहाँले कृषिको तालिम नै लिएर ३१ रोपनी जग्गामा फर्म सञ्चालन गर्नुभएको छ । अलैची, किबी, ओखर, दाते ओखर, एभोकाडो, आलु किम्बुका बोटहरु र मकै घाँस लगाउनुभएको छ ।
यसरी धेरै थरी लगाउँदा एउटामा नभए पनि अर्काेबाट फाइदा लिन सकिन्छ भन्ने उहाँको सोंच रहेको छ । ठुलो लगानीमा कृषि फर्म सञ्चालन गरेका उहाँ अब कृषिलाई नै अगाडि लैजाने बताउनुहुन्छ । बाख्रा र गाई पनि थप गर्दै जाने अनि त्यहीबाट मल उत्पादन गर्दै अर्गानिक खाने कुरा उत्पादन गरेर स्थानिय बजारमा बिक्री वितरण गर्ने उहाँको योजना छ । साथै विदेश रहेका छोराहरुलाई पनि नेपाल बोलाएर कृषि सँगसँगै सामाजिक कार्यमा अघि बढ्ने उहाँ बताउनुहुन्छ ।









