असाेज १०, सरकारले भाडामा बस्नेलाई पराइकाे व्यवहार नगर्न आग्रह गरेकाे छ । साथै बाहिरी जिल्लाबाट काठमाण्डौ उपत्यकामा आएका व्यक्तिलाई पीसीआर परिक्षणका लागि दवाव नदिन पनि सरोकारवालाई आग्रह गरेको छ ।
आफ्नो कामका लागि उपत्यकामा आएकाहरुलाइ घरबेटी, छिमेकी तथा समुदायका व्यक्तिले पीसीआर परिक्षणका लागि बाध्य बनाउने गरेको गुनासो आएको भन्दै सरकारले यस्तो नगर्न आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रबक्ता डा जागेश्वर गौतमले कोठामा बस्ने मानिस पनि त्यो घरको सदस्य जस्तै हुने र उनीहरुले तिरेको पैसाबाट घरबेटीको गर्जो टर्ने गरेकोले अप्ठ्यारो अबस्थामा पराइको व्यवहार नगर्न आग्रह गर्नुभयो ।
उहाँले आफ्नो घर वा टोलछिमेकमा आउने व्यक्तिलाई दुई हप्तासम्म कोठामा छुटै बस्ने वातावरण दिएर लक्षण देखिएमा मात्र परिक्षण गर्न लगाउन आग्रह गर्नुभयो । अहिले पीसीआर परिक्षणका लागि रातभरी झरीमा रुझ्दै लाइन बस्नु परेको प्रति दुख व्यक्त गर्दै प्रबक्ता गौतमले यस्तो अबस्था आउन नदिन महामारीमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले कसैलाई कोरोना सङ्क्रमणसँग मिल्दो लक्षण देखिएमा वडा कार्यालयलाई खबर गर्न आग्रह गर्दै वडा कार्यालयले परिक्षण लगायत आवश्यकता अनुसार आइसोलेसनको व्यवस्था गर्ने बताउनुभयो । प्रबक्ता गौतमले अहिले यात्रा गर्दा कोरोना सङ्क्रमणको जोखिम उच्च हुने भएकोले यो बेलामा सकेसम्म यात्रा नगर्न अनुरोध गर्नुभयो ।









