समिता श्रेष्ठ
यो भैरव बहादुर श्रेष्ठको संघर्ष र सफलताको कथा हो । तीन कक्षा पढेका श्रेष्ठले आफ्ना तीन जना छोराछोरीलाई धेरैले चाहने मुख्य तीन क्षेत्र इन्जिनियर, डाक्टर र पाइलट बनाउनुभयो । सम्पतीसँगै मानसम्मान र इज्जत कमाउनुभएको छ ।
भैरव बहादुर श्रेष्ठको परिचय
उहाँको जन्म २०१८ सालमा काठमाण्डौको गोकर्ण (उत्तरबाहिनी चोक) मा भएको हो । सामान्य परिवारमा जेठो सन्तानका रुपमा जन्मेका श्रेष्ठले तीन कक्षा भन्दा धेरै पढ्नुभएन । स्कुल जाने कपडा, खुट्रटामा लगाउने चप्पल र कापिकलम किन्ने पैसा भएन । अनि ९ वर्षको उमेरमा पढाई छोड्नुभयो । त्यसपछि १२ वर्षकै उमेरमा बुवालाई गुमाउनुपर्यो । बुवा बितेपछि उहाँको जीवनमा दुःखका पहाड झन् झन् बढ्दै गए । श्रेष्ठले आमा गुमाएको पनि झण्डै १० वर्ष भैसकेको छ ।
जिम्मेवारी र बोझको भारी
बुवा बितेपछि घरको जिम्मेवारी नै श्रेष्ठको काँधमा आईपुग्यो । घरमा दुई छाक खान र एकसरो लगाउन धौ धौ पर्दै गयो । बिहान खाए बेलुका के खाने अवस्था आयो । श्रेष्ठ बिगतलाई सम्झदै भन्नुहुन्छ,‘त्यो बेला भोग्नुपरेको दुःख र पिडाको अवस्था वर्णन गर्ने शब्द शब्दकोषमा पनि भेटिदैन होला ।’ दैनिकी चलाउन ३ रुपैयाँ ५० पैसामा ज्याला मजदुरी गरेको उहाँ अहिले पनि सम्झनुहुन्छ ।
तीन दाजुभाइ र दुई दिदीबहिनी हुर्काउन आफुले ५० पैसाको खाजा खाएर ३ रुपैयाँ जोगाउनुपथ्र्यो । घरखर्च चलाउन र भाईबहिनीलाई हुर्काउन बढाउन दैनिक ज्याला मजदुरी, सिकर्मीदेखि लिएर गाडीमा समेत काम गर्नुपर्यो । झण्डै तीन वर्ष गाडीमा काम गरेपछि उहाँले खेतीकिसानी काम थाल्नुभयो । दिनभरी खेतबारीमा गर्ने कामबाट हुने उत्पादन बेच्न थाल्नुभयो ।
बिगत र बर्तमान
जिविकोपार्जनका लागि काम निरन्तर चल्यो । गाउँकै गणेश बहादुर दाजु मार्फत् तिब्बेटियन ऊन साहुसंग भेट हुन पुग्यो । त्यही भेटपछि उहाँका पाईला सफलतातर्फ लम्किन थाल्यो । २२ वर्ष इमान्दार भएर ऊन धागो बनाउने काम गर्नुभयो । आफू मात्रै नभएर सयौं ब्यक्तिलाई रोजगारी पनि दिनुभयो ।
तिब्बेटियन साहुको भरोसा जित्न उहाँका लागि जीवनको मोड बन्यो । ऊनबाट धागो काट्ने कारखाना नै खोल्नुभयो । पहिले लगाउने जुत्ता सम्म नभएर विद्यालय जान्न नसकेका उहाँले आफ्ना सन्तानलाई उच्च शिक्षा दिनुभयो ।
आफुले नपढेपछि जीवनमा पछुतो मानेका श्रेष्ठले आफ्ना छोराछोरीका लागि भने निक्कै संघर्ष गर्नुभयो । पढाईमा अब्बल बनाउन लाग्नुभयो । आफ्ना २ छोरी र १ छोरालाई ईन्जिनियर, डाक्टर र पाइलट बनाउनु सफल हुनुभएको छ । जेठी छोरी मायादेवि अहिले अमेरिकामा ईन्जिनियरका रुपमा काम गर्नुहुन्छ । छोरा राजेश नेपालमै डाक्टर हुनुहुन्छ । त्यसैगरी कान्छी छोरी राजेश्वरी लण्डनमा पाइलट हुनुहुन्छ ।
छोराछोरी देशभित्र र विदेशमा समेत सेवामा खटिएका छन् । बिगतमा गरेको दुःख र संघर्षले आज यो उपलब्धी प्राप्त भएको छ । त्यस्तै श्रेष्ठले सम्पतीसँगै मानसम्मान र ईज्जत कमाउनुभएको छ । वर्तमानलाई हेरेर कसैले पनि भविष्य जान्न र बताउन सक्दैन । श्रेष्ठको अनुभव छ, उहाँलाई विगतमा हेला गर्नेहरुको कमि थिएन, तर आज त्यहि मान्छेहरु, छिमेकी र आफन्त गुनगाउन गाउने गर्छन् । अप्ठारो पर्दा सहयोग माग्छन् । र पनि कुनै गुनासो छैन ।
सफलताको पाईला
अहिले समाजसेवीका रुपमा परिचय बनाउन सफल श्रेष्ठ जीवनलाई यात्रा र हामी यात्री हौ भन्नुहुन्छ । यात्रीका पाईलैपिच्छे जीवन परिवर्तन हुन्छ । दुःख पछि सुख आउँछ । तर दःुखलाई सुखमा परिवर्तन गर्ने शक्ति उसले मात्रै राख्छ, जसले जस्तोसुकै परिस्थितिमा पनि कर्मशिल, ईमानदार र परिश्रमी भएर काम गर्छ ।’
‘आफ्नो गाउँ आफै बनाउँ’ अभियान सहित तत्कालिन गोकर्णेश्वर गाविस वडा ७ को वडाअध्यक्षको रुपमा काम गर्नुभयो । अहिले उहाँ गोकर्णको काल भैरव मन्दिरको अध्यक्ष हुनुहुन्छ । उहाँ अध्यक्षका रुपमा मन्दिरको विकास र संरक्षणमा लाग्नुभएको छ । श्रेष्ठ भन्नुहुन्छ,‘जीवनमा सफलताको सुत्र लगनशीलता र आत्मविश्वास हो ।
लगनशील भै जो आफ्नो कर्ममा लाग्ने गर्छ, उसले सफलताको शिखर चुम्ने गर्छ ।’ मान्छे जन्मेपछि एक दिन मर्नुपर्छ तर मर्नु भन्दा पहिले समाजका लागि र मानवताको लागि राम्रो काम गर्नुपर्छ भन्ने उहाँको धारणा छ ।












